आर्थिक समृद्धि हासिल गर्न जलविद्युतको आन्तरिक खपत बढाउनुपर्छ : अर्थमन्त्री पौडेल

आर्थिक समृद्धि हासिल गर्न जलविद्युतको आन्तरिक खपत बढाउनुपर्छ : अर्थमन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जलविद्युतमार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपाय नामक संस्थाको संयुक्त आयोजनामा बुधबार भएको ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा उनले ऊर्जा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्ने योजना आवश्यक रहेको समेत बताए ।

अर्थमन्त्री पौडेलले सरकारले जलविद्युत् क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र यस क्षेत्रको विकासका लागि विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउने प्रतिबद्धता जनाए । ‘नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्नेछ । नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्न ऊर्जा उत्पादन र आन्तरिक खपतमा जोड दिनुपर्छ,’ मन्त्री पौडलले भने, ‘नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुने गरी ठूलाठूला बहुर्राष्ट्रिय कम्पनीलाई नेपाल लगानीका लागि प्रोत्साहन गर्ने नीति सरकारले लिनेछ ।’

ऊर्जा उत्पादनमा आफ्नो सम्पूर्ण समय र लगानी लगाएका ऊर्जा उद्यमीले समस्या छन् भनेर थाक्न नपाइने भन्दै उनले हाल देखिएका समस्या बृहत छलफलमार्फत समाधान गर्न सकिने धारणा राखे । नेपालको ऊर्जा क्षेत्रमा थप प्रगति हासिल गर्न र हिउँदमा पनि अन्यत्रबाट विद्युत् आयात गर्न नपर्ने ठाउँमा नेपाललाई पुर्‍याउन सबैले मिलेर काम पर्नेमा उनको जोड थियो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपाली बैंकले विदेशी लगानीका ठूला विद्युत् आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी आयोजनाले लगानी नपाएको धारणा राखे । ‘बैंकसँग जलविद्युतमा गर्ने लगानीको सानो सीमा छ । विदेशी लगानीका आयोजनामा गरिएको ऋण लगानी देखाउँदै स्वदेशी जलविद्युत् आयोजनामा लगानी गर्न सीमा सकियो भन्छन् । यसले हामी स्वदेशी लगानीकर्ता मारमा परेका छौं,’ उनले भने, ‘त्यस विदेशी लगानीका आयोजनामा गरिएको लगानीलाई सीमाभन्दा बाहिर राख्ने वा विदेशी लगानीका आयोजनामा नेपाली बैंकले लगानी गर्न नपाउने व्यवस्था गर्न आवश्यक भइसकेको छ ।’