काठमाण्डु – शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
यसअघि यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित रहेको जनाइएको छ ।
दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको छ ।
बैठकको शुरुमा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ६२ औँ जन्मोत्सवका अवसरमा शुभकामनासहित केक काटी प्रधानमन्त्री एवं पार्टीका ओली,अध्यक्ष दाहालसहितका नेताहरुले शुभकामना दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ’, उनले भने, ‘उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिनुभएको छ ।’





प्रतिक्रिया