काठमाडौं – प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले सरकारले बजेटमा बढाएको वृद्धभत्ताबारे बोल्ने म छु भन्दै जवाफ दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सोमबार बजेट छलफलमा धारणा राख्ने क्रममा नेकपा महासचिव विष्णु पौडेलले वृद्धभत्ता बढेको विषयमा विरोध गरेर देखाउन चुनौती दिएका थिए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा जवाफ दिँदै थापाले भने, ‘वृद्धभत्ताबारे बोल्ने हिम्मत मसँग छ ।’ उनले पौडेललाइ ‘म विरोध गर्छु’ भन्दै जवाफ फर्काएका हुन् ।
सांसद थापाले भने, ‘नेकपाको बलवान सांसदले जसले बालुवाटारको जगै हल्लाइदिने हिम्मत राख्न सक्नुहुन्छ यहाँ उभिएर हिजो चुनौती दिनु भयो । वृद्धभत्ताका बारेमा बोल्ने हिम्मत छ ?
सांसद थापाले सरकारले वृद्धभत्ता बढाउन मात्रै ध्यान दिएको तर सुविधा कसरी दिने भन्नेतर्फ नसोचेको आरोप लगाएका छन् ।
सामाजिक सुरक्षाका यती धेरै कार्यक्रमहरु छन् । यी सबैलाई एकीकरण गर्ने, कल्लाई युनिभर्सल बनाउने, कसलाई लक्षित गर्ने, उत्पादनसँग जोड्ने हो बजेटले समेटेको छैन् ।
उनले अगाडि थपे, ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारको बिदा लिँदै गर्दा ६५ वर्षको उमेरमा ५ हजार वृद्धभत्ताको व्यवस्थाको विषयमा मैले नै हचुवाको भरमा वृद्धभत्ता बढाउन हुँदैन भनेर विरोध गरेको मात्रै होइन, कानून बनाउँदा ७० वर्षलाई आधार बनाउनु पर्छ भनेर कानून संशोधन गर्न लगाउने नै म हुँ ।’
नेकपासँग आज संख्या भएको तर सिद्धान्त नभएको उनले बताए । उनले भने, ‘आज नेकपासँग संसदमा संख्या त छ तर सिद्धान्त छैन, र, यो मैले भनेको होइन, नेकपाका आफ्नै नेताहरुले सार्वजनिक मञ्चमा उभिएर भन्नु भएको छ । संसदमा उभिएर भन्नु भएको छ ।’




प्रतिक्रिया