सरकार निजी क्षेत्रको मनोबल बढ्ने गरी लागेको छ : मन्त्री पौडेल

सरकार निजी क्षेत्रको मनोबल बढ्ने गरी लागेको छ : मन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानून संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् ।

भैरहवामा बिहीबारदेखि सुरु भएको नवौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उनले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएकाले व्यवसायीलाई निराश नहुन आग्रह गरे ।

‘निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ,’ पौडेलले भने ।

सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मुलुक चलायमान बनाउने उनले जिकिर गरे । ‘सरकार जसरी हुन्छ, निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न लागेको छ,’ उनले भने, ‘उद्योगी व्यापारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीका समस्या छन् । ती अब समाधान हुन्छन् भन्ने आमनागरिकमा विश्वास हुँदै गएको छ ।’

अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल राष्ट्रकै गौरव भएकाले यसको सञ्चालनमा शंका नगर्न आग्रह गरे । हालको टर्मिनल भवन निर्माण भए त्यो अपुग रहेको बताउँदै अर्को भवन निर्माणको तयारी भइरहेको उनले जानकारी दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा लुम्बिनी राष्ट्रिय महोत्सव महोत्सव सुरु भएको छ । स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने र पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

आगामी पुस १ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटन कार्यक्रममा भैरहवाको देवकोटा चोकदेखि बाजागाजासहित विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो ।

महोत्सवमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।