बुटवल – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषयकेन्द्रित भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफलमा मन्त्री पौडेलले सरकारले मुलुकका समस्या समाधानका लागि नै पछिल्लो पटक अध्यादेश ल्याएको बताए । ‘सरकारले यो कदम मुलुकका समस्याको गतिरोध तोडनका निम्ति गरेको एउटा सशक्त पहल हो,’ उनले भने, ‘यसका सकारात्मक नतिजा क्रमशः आउन थालेका छन् ।’
अध्यादेशका फरक–फरक विषय राम्रोसँग अध्ययन, छलफल गरेर आम नागरिककाबीच वास्तविकता सूचना पु¥याउने हिसाबले लाग्न सञ्चारकर्मीलाई मन्त्री पौडेलले आग्रह गरे ।
उपप्रधानमन्त्री पौडेलले सरकार ढाल्ने शक्ति नभएकाहरू सरकार ढल्छ भन्दै हिडेको बताए । ‘अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने विषय कम सुनिन थालेको छ । जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने हो,’ उपप्रधानमन्त्री पौड्लले भने । सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिएको र अहिले आएर मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको बताए ।
उनले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा संविधानले दिएका नागरिकका हक, वाक तथा प्रेस स्वतन्त्रताकाविरुद्ध सरकार उभियो कि भन्ने आम रुपमा भ्रम फैल्याउने काम भएको बताए । वर्तमान नेतृत्व वाक तथा प्रकाशन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताका र नागरिकका अधिकारका निम्ति जीवनभर लडेका राजनीतिक पार्टीक नेता कार्यकर्ता रहेकाले त्यस्तो स्वतन्त्रताकाविरुद्ध कदापि लाग्न नसक्ने मन्त्री पौडेलको भनाइ थियो ।
अर्थमन्त्री पौडेलले सामाजिक सञ्जाललाई नियमनसम्बन्धी विधेयक वाक् तथा स्वतन्त्रताविरुद्ध नभएको बताए । उनले नियमन गर्नु र स्वतन्त्रताकाविरुद्ध उभिनु एउटै विषय नभएको पनि बताए ।
सरकारले प्रस्ताव गरेको विधेयकमा संविधान र कानुनले नागरिकलाई प्रदान गरेका अधिकारलाई बन्देज लगाउने कही नभनेको नियमन गर्ने, व्यवस्थित गर्ने र अनाधिकृत, अनुत्तदायी, समाजको एकता, सद्भाव खलबल्याउने विभिन्न खालका विकारयुक्त अभिव्यक्तिको पाणी चलाएर दिग्भ्रमित गर्ने कार्यलाई नियमन गर्न खोजिएको उनको भनाइ थियो ।
प्रतिक्रिया