काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको गति सन्तोषजनक नभएको बताएका छन् ।
बुधबार महामन्त्री शर्माले ७ बुँदामा कमजोरी केलाउँदै मुख्य दुईदल सम्मीलित सरकारको गति सन्तोषजनक नभएको बताएका हुन् ।
उनले सरकारले नगर्नुपर्ने निर्णयमा हतारो गरेको र गर्नुपर्ने निर्णयमा बिलम्ब गरेको भन्दै सरकारको यो प्रवृत्ति समर्थन योग्य नरहेको बताए ।
उनले भने- ‘मुख्य दुईदल सम्मीलित सरकारको गति सन्तोषजनक भएन कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ सरकार अलमल बाहिर अनुभुतीमा भेटिनुपर्छ ! सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ !’
उनले ‘सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ’ भन्दै सरकारका ७ कमजोरी औंल्याएका छन्
१) सामाजिक संजाल विधेयक नियमनका नाममा नियन्त्रणको नियत साथ ल्याइयो । अध्यादेशको प्रत्येक अक्षरमा संवाद गरिएको संयन्त्रमा यो विधेयक ल्याउनुपूर्व कुनै संवाद भएन ।
२) कुलमान प्रकरण मा हटाउनुहुन्न भन्ने काँग्रेस भित्रको फरक मत र आम जनमतको हेक्का राखिएन । असन्तुष्टिको आगोमा चरु हाल्नुहुन्न भन्ने सजगता सरकारमा देखिएन ।
३) शिक्षक आन्दोलनको माग सम्बोधन गर्न ढिलाइ हुँदै गएको छ । सरकारले निर्णय गर्न मिल्ने बुँदाहरुमा महासंघलाई विश्वासमा लिएर अविलम्ब निर्णयमा पुग्नुपर्छ, विधेयक मार्फत टुंगोमा पुग्ने बुँदाहरुप्रती साझा प्रतिबद्धता गर्न सकिन्छ, गरिनुपर्छ ।
४) अख्तियार सम्बन्धी विधेयक राज्यव्यवस्था समितिले उपसमिति मार्फत करिब टुंगोमा पुऱ्याएको थियो, यसलाई निर्देशित रूपमा ‘होल्ड” गराउने कार्य आलोच्य भएको छ र यो अनुचित छ ।
५) त्रीविविका उपकुलपतिले पदत्याग गर्नुपर्ने अवस्था आउनु र फेरिपनी त्रीविविमा बेथितिले प्रश्रय पाउनु जुनकुनै कोणबाट पनि गलत भएको छ ।
६) राष्ट्रबैङ्कको गभर्नर नियुक्तिको विषयसँग गाँसिएर अनेक थरी प्रश्न उठिसक्दा नियुक्तिमा अझै अलमल जारी रहनु दुःखद छ । मौद्रिक नितिको नेतृत्व गर्ने, समग्र बैंकिङ क्षेत्रको नियामक संस्थाको नेतृत्व चयनमा संवेदनशील अग्रसरता नदेखिनु सरकारको सक्षमता माथिकै प्रश्न हो ।
७) नेपाल प्रहरीको एआईजी पदमा ६ वटा दरबन्दी रिक्त भएको महिनादिन पुग्न लाग्दा समेत नियुक्तिमा अलमल छ, सरकारले यस्तो विलम्बबाट प्रशंसा हासिल गर्न सक्दैन ।
प्रतिक्रिया