विद्यालय शिक्षा विधेयक संशोधनका लागि पहल गर्ने कांग्रेसको निर्णय


काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव सुनाउँदै विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गरेका छन् । कांग्रेसले सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिलाई सकारात्मक रुपमा लिएको छ ।

उनले भने, ‘विद्यालय शिक्षाको वर्तमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीका वर्षाैंदेखिका समस्या समाधान समयानुकूलको ऐन प्रतीक्षित थियो । अघिल्लो ऐन र कानूनी व्यवस्थाका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्त्वपूर्ण विषय समेट्नु एकातर्फ सुखद छ, यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन, संशोधन गर्नुपर्ने विषय छन् । संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिबद्धता समेत जाहेर गर्दछ ।’

कांग्रेसले विद्यालयको पठनपाठन सहज ढंगले हुने वातावरण निर्माण गर्न पनि अपिल गरेको छ । ‘मुलुकको समग्र मार्गप्रशस्त गर्ने थलो विद्यालयहरू नै हुन् । विद्यालय शिक्षामा सम्पूर्ण सुधार गर्दै शिक्षक र शिक्षण पेसालाई प्रतिष्ठित, मर्यादित र आकर्षक बनाउनु हामी सबैको दायित्व हो । यस दिशामा सबैको साझा प्रतिबद्धता र प्रतिबद्धता अनुरूपको भूमिकाका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक अपिल गर्दछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement