कांग्रेससँग गोत्र मिल्ने सबैको छानबिन गर्न गृहमन्त्री लामिछानेलाई महामन्त्री शर्माको चुनौती


काठमाण्डु– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेससँग गोत्र मिल्ल्ने सबैको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

बिहीबार नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस नेताहरू मात्र नभइ उनीहरूक नातेदारमाथि पनि छानबिन गर्न चुनौती दिएका हुन् ।

‘कांग्रेसको चलनचल्तीको भाषामा भन्दा दाजु–भाउजू, मामा, माइजू कांग्रेसको को–को माथि सभापति, उपसभापति, पदाधिकारी को–को ? कसको कसको छानबिन गर्नुछ नाम, थर, गोत्र, ससुराली, हातका शंख र चक्र सबै लेख्नुस् तर छानबिन गम्भीरतापूर्वक हुुनुपर्छ,’ महामन्त्री शर्माले भने ।

महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछानेले दोषी भए राजनीति छोड्छु आफू दोषी नभए गगन थापाले राजनीति छाड्ने हो भन्ने आशयमा दिएको अभिव्यक्तिमा कटाक्ष गर्दै भने, ‘नयाँ दलको एउटा मित्रले के भन्नुभएछ भने, ममाथि छानबिन गर्नुस् यदि दोषी देखिनुभयो भने उहाँले पनि राजनीति छोड्नुहुन्छ हामी पनि राजनीति छोड्छौँ । विश्वप्रकाश शर्मामाथि छानबिन गर्ने, दोषी देखिए जेल जाने हो, बाँकी कांग्रेस जाने होइन।’

महामन्त्री शर्माले लामिछानेको प्रश्नलाई सती प्रथासँग तुलना गरे । उनले भने, ‘सती प्रथा हो ? श्रीमान्को मृत्यु भएपछि श्रीमती जाने ? यो त चन्द्र शमशेरको पालामा उहिल्यै अन्त्य भइसक्यो । सहकारी ठगीको बारेमा गम्भीर छानबिन गर्न जरुरी छ ।’

सदनमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि सदनमा छन् भनेकोमा आपत्ति जनाउँदै शर्माले यो विषयलाई सदनको रकेर्डबाट हटाउन माग गरे ।

महामन्त्री शर्माले भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न आग्रह गरे । कांग्रेस सरकारमा हुँदा कमजोरीको पनि फाइल खोलियोस् भनेर उपसभापति धनराज गुरुङको नेतृत्वमा संसद्‌मा पार्टीले प्रस्ताव लगेको भनाइ उनको थियो ।

‘०४६ सालपछि को मन्त्री भए, कोको केके भए ? कसले कति कमाए होलान् ? कमाएनन् होला सबै छानबिन गरौँ भनेर प्रस्तावित गरेका छौँ । त्यसैले यो बेलामा नेपाली कांग्रेस दृढतापूर्वक सहकारी ठगी प्रकरणका सन्दर्भमा पनि हामी दृढतापूर्वक बोलिरहेका छौँ,’ उनले भने, ‘प्रश्न एकजना व्यक्तिको सन्दर्भको होइन । संसद्‌मा बोल्दै गर्दा उहाँले यसको यो विरोध छ भन्नुभयो । अरु माथि पनि छ त, ममाथि मात्रै किन रु ममाथि छैन भन्ने होइन, ममाथि छ तिमीहरू माथि पनि छ भन्ने छ ।’

 

प्रतिक्रिया दिनुहोस
Advertisement