काठमाण्डु–कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमाले र रास्वपाले सहकारी ठगी र गिरीबन्धु टि स्टेटको विषय नउठाउने सहमति गरेको दाबी गरेका छन् ।
संसद् भवनमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले भने, ‘सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई एमालेले र एमाले अध्यक्ष केपी शर्मा ओली मुछिएको गिरीबन्धु टि स्टेट प्रकरणमा रास्वपाले साथ दिने सहमति भएको छ ।’ वर्तमान सत्ता समीकरणलाई ‘सहकारी–बन्धु गठबन्धन’ नामाकरण उनले गरे ।
एमाले अध्यक्ष ओलीले केही दिनअघि अब संसदमा कांग्रेसलाई बोल्न नदिइने भनेको भन्दै महामन्त्री शर्माले सोही बमोजिम सभामुख देवराज घिमिरेले आज कांग्रेसलाई संसदमा बोल्न नदिएको पनि दाबी गरे ।
‘ओलीजीले केही दिनअघि के भन्नुभएको थियो भने अब कांग्रेसलाई संसदमा बोल्न दिइने छैन । कांग्रेसले धेरै बकवास गरेको छ । अब यो सहकारी बन्धु गठबन्धन भनौं, यसको शैली ठीक देखिएन,’उनको भनाइ थियो ।
प्रतिपक्षले संसदमा बोल्दै गर्दा संवाद र संसदीय प्रक्रियालाई सहज बनाउँदैन कि भन्ने आभास सभामुखबाट व्यक्त भएको उनको भनाइ छ ।
पूर्वनिर्धारित तालिका बमोजिम प्रतिपक्षको तर्फबाट आफू बोल्ने तयारी गरे पनि सभामुखले बोल्न नदिएको पनि शर्माले बताए ।
सहकारी ठगी प्रकरणमा कांग्रेसले उपप्रधान एवं गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नुपर्ने शर्तलाई कायमै राखेको उनको भनाइ छ ।
महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको नाम नराखी समिति बनाउनुको कुनै अर्थ नहने पनि बताए ।
गिरीबन्धु प्रकरणमा एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि आरोप लगाएको भन्दै त्यसमाथि छानबिन समिति बनाउन आफूहरू तयार रहेको महामन्त्री शर्माले स्पष्ट पारे । गृहमन्त्रीले सदनमा आरोप लगाएको प्रत्येकमाथि छानविन गर्न आफूहरु तयार उनको भनाइ छ ।




प्रतिक्रिया