देउवा निवासमा भेटिएको रुपैयाँबारे बुढानीलकण्ठले जवाफ दिनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

देउवा निवासमा भेटिएको रुपैयाँबारे बुढानीलकण्ठले जवाफ दिनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा फेला परेको रुपैयाँका विषयमा अनुसन्धान हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टी सभापतिको घरमा रुपैयाँ फेला परेको भनिएको घटना अनुसन्धानबाट टुंग्याउनुपर्ने बताए ।

‘पैसा कसरी र कहाँबाट आयो भन्ने कुरा सरकारले छानबिन समिति बनाई अनुसन्धान गरेर पत्ता लगाउनपर्छ’, उनले भने ।

सामाजिक सञ्जालमा आएको प्रचारको पछि लाग्नुभन्दा सरकारले अनुसनधान गर्न सुरु गर्नुपर्ने महामन्त्री शर्माले बताए ।

‘कि त यो पैसा आफ्नो हो कि होइन भन्ने कुरा बुढानिलकण्ठले जवाफ दिनुपर्‍यो। कि त सरकारले अनुसन्धान सुरु गर्नपर्‍यो,’ उनले भने । ‘अवैध सम्पत्ति भेटिए सबैको सम्पत्ति छानबिन गर्नपर्नेमा शर्माले जोड दिए ।

जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवाको निवासमा आक्रमण हुँदा पैसाको थुप्रो जलिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

महामन्त्री शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसले जेन जीलाई प्राथमिकता दिने उल्लेख गरे ।

शर्माले पार्टी विधानमा युवा पुस्तालाई संस्थागत ढंगले प्रतिनिधित्व दिलाउने व्यवस्था गर्नुपर्ने बताए । ‘विधानमा अब ३० मुनिका ३० राखौं । हरेक तहमा ३० वर्षमुनिका प्रतिनिधित्व हुने व्यवस्था गरौँ,’ उनले भने, ‘उनीहरू मात्रै मतदाता र उम्मेदवार हुनेगरी केन्द्रीय समितिमा पनि ३० मुनिका ३० निर्वाचित गर्ने समय आएको छ ।’