सेवाग्राहीलाई दुःख दिने प्रहरीलाई सेवाबाट हटाउँछुः डीआईजी पोखरेल


काठमाडौं – प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले सरकारको प्रतिनिधित्व गर्ने राज्य संयन्त्रहरूमा प्रहरीनै पहिलो प्रतिनिधि पात्रको रूपमा रहने हुदा प्रहरीले बोली व्यवहारमा नम्र एवं व्यवसायिक भएर कार्य गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

प्रहरी नायव महानिरीक्षक पोखरेलले मंगलबार विहान महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको निरीक्षण तथा निर्देशन कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दैै महानगरीय प्रहरी प्रमुखले राजधानीमा सबै जिल्लाका मानिसहरूको बसोबास हुने, प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तराष्ट्रिय जगतमा समेत सम्प्रेषण हुने बताए ।

‘काठमाडौं शान्त–सुरक्षित बनाउनुस देश आफैं शान्त र सुरक्षित हुन्छ, त्यसको लागि तपाईलाई दिईएको जिम्मेवारीमा कहीं नचुक्नु’ उनले भने ।

उनले प्रहरी कार्यालयमा आउने सेवाग्राही पीडित भएर नै आउने हुनाले उनीहरूको परेको पिरमर्कालाई आफुलाईनै परेको पिडा हो भन्ने सम्झि, सरल छिटो छरितो तरिकाले सेवा प्रवाह गर्न समेत निर्देशन दिए । कर्तव्य पालनाको शिलशिलामा आफ्नो पदिय हैसितमा म ठूलो हुँ भन्ने भावनालाई थाति राखी जिम्मेवारीको गहनतालाई बुझि जिम्मेवार भई सेवा प्रवाह गर्न समेत निर्देशन दिए ।

‘तपाईको कार्य पाईला पाईलामा नागरिक, सरोकारवाला निकाय, राज्य संयन्त्र साथै सरकारबाट समेत अडिट भैरहेको हुनाले गलत गर्ने प्रहरी कर्मचारीहरूलाई एक्सक्युज नगर्ने दोहोर्याउदै व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता गरि सेवाग्राहीलाई दुःख दिई अन्याय गर्ने काम गरेमा त्यस्ता प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउन समेत पछि पर्दिन,’ उनले भने ।

कानूनको उल्लंघन गर्ने जो कोही भएतापनी ओहदा नहेरीकन कानूनी दायरामा ल्याउन निर्देशन दिदै कानूनको सहि तरिकाले निर्दयीता पूर्वक कार्यान्वयन गर्दा जस्तो सुकै दवाव आएपनि पछी नहट्न निर्देशन दिए ।

विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ती सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यस तर्फ सचेत रहदै शान्ती सुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीहरूलाई दिन रात नभनी त्रुटिरहित जिम्मेवारी बहन गर्न समेत उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement