पोखरा – प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय नक्शाबारे प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सभापति शेरबहादुर देउवाले आशंका मात्र व्यक्त गरेको प्रतिक्रिया दिएका छन् ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा भारतले राजनीतिक नक्सा सार्वजनिक गरेको आरोप लगाएका थिए ।
आइतबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नाकाबन्दीमा बोल्न नसक्ने भन्दै केपी ओलीको रास्ट्रवादमा प्रश्न गरेकोमा खेद प्रकट गरेका थिए । रास्ट्रियताको विषयलाई चुनावी मसला नबनाउन पनि उनले सुझाव दिए ।
यहि बीचमा कांग्रेस प्रवक्ता शर्माले प्रेस युनियन कास्कीको पत्रकार भेटघाटमा बोल्दै देउवाको कुरा आधिकारिक भन्दा पनि शंका रहेको बताएका छन् ।
‘बालुवाटार बैठकमा सहमति भयो, प्रधानमन्त्रीलाई पहल गर्न भनियो, तर समय गएको निकै भयो, कम्तिमा प्रमुख प्रतिपक्षी दलका नेताले राजदूतलाई फोन गरेर नेपालको भूमि हो यो, तपाइँले जारी गरेको नक्सामा आपत्ति छ भन्नुभयो । तर, त्यै लैनचौर नजिकै रहेको परराष्ट्र मन्त्रालयले बोलाएर छलफल गर्यो ? सरकारले त्यो गरेन,’ उनले प्रश्न गरे ।
‘भारतको प्रधानमन्त्रीलाई विभिन्न भाषामा जन्मदिनको शुभकामना दिँदै गर्दाखेरि नेपालको मिडियालाइ मात्र खपत हुने गरि विज्ञप्ति आए कालापानीको विषयमा,’ उनले भने, ‘यतिका समय गैसक्यो, मोदीको नाममा आजसम्म एक टेलिफोन काठमाडौंबाट गैरहेको छैन । त्यसैले कांग्रेसको सभापतिले बोल्दै गर्दा आशंका राख्नुभयो, कतै भारतसँगको सहमतिमा पो भएको हो कि ? यो उहाँले आशंका राख्नुभएको हो । उहाँको अभिव्यक्तिमा पार्टीको ठहर होइन अनि उहाँको पनि ठहर होइन ।’
सरकारले तीन दिन भित्रै नक्सा सार्वजनिक गर्न चुनौती समेत दिए । “नक्सा छाप्नु ठूलो कुरा नहोला तर नेपालको आधिकारिक नक्सा समेत सार्वजनिक गर्न नसक्ने सरकारबाट अरु के आश गर्नु ?,“ उनले प्रश्न गरे ।




प्रतिक्रिया