काठमाण्डु – संयुक्त अबर इमिरेट्सको दुबईस्थित ग्लोबल फिनटेक कम्पनी फिल्प्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नेपालका उद्यमी विश्वास ढकाल नियुक्त भएका छन्।
ढकाल नेपालको फिनटेक उद्यमी हुन् । फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनलको सेवा नेपालमा लगभग ९० प्रतिशत बैंकहरूले प्रयोग गर्दै आएका छन्। उनले सन् २००४ मा फिनटेक स्थापना गरेका हुन्।
उनी नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे इसेवा र फोन पेका संस्थापक पनि हुन्। हाल इसेवाका ५० लाख र फोन पेका १८ लाख प्रयोगकर्ताहरू छन्। अमेरिकी विदेश मन्त्रालयले उनलाई अन्तर्राष्ट्रिय भिजिटर लिडरशिप प्रोग्राम र २०१६ को ग्लोबल इन्ट्रेप्रेन्योरशिप समिटका लागि छनोट गरेको थियो। हालै मे २०२५ मा काठमाण्डुमा आयोजित एशियन पेमेन्ट नेटवर्कको २१औँ वार्षिक साधारणसभामा उनलाई उपाध्यक्षमा नियुक्त गरिएको थियो।
फिल्प्सले ‘नेक्स बिलियन, नेक्स फ्रन्टेनियर’ भन्ने नारासहित मजबुत फिनटेक पूर्वाधार निर्माण गर्ने दृष्टिकोण अगाडि बढाएको छ।
कम्पनीका अनुसार ढकालको नेतृत्वमा पुरानो परम्परागत तरिकालाई छोडेर नयाँ र उन्नत तरिका अपनाउन गति दिने, प्रभाव विस्तार गर्ने र सबै साझेदारका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्ने दिशामा काम गरिने छ।
उनले सन् २०१४ अन्तर्राष्ट्रिय व्यापार पुरस्कार, २०१३ नेपाल उद्योग वाणिज्य महासंघबाट सेवा उत्कृष्टता पुरस्कार र २०१२ रेड हेरिङ टप १०० एशिया पुरस्कार प्राप्त गरेका छन्।




प्रतिक्रिया