काठमाण्डु – सरकारले प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र दर्ता गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने गरी संसद सचिवालयमा पत्र दर्ता गराएका हुन् ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । तर प्रतिनिधिसभाको पहिलो बैठकमै प्रधानमन्त्रीले आफ्नो सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् । उनले आज ४ बजेको संसद बैठकमा विश्वासको मत लिने भएका हुन् ।
देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन आवश्यक छ । कांग्रेस र माओवादी केन्द्रसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले दावी गरेको छ । माओवादी, कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाका १ सांसद गर्दा विश्वासको प्रस्तावको पक्षमा १२८ सांसद हुन्छन् ।
त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ । यसअघि माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।




प्रतिक्रिया