भाजपा महासचिव राम माधव खुसुक्क देउवा निवास पुगे


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतिय जनता पार्टीका महासचिव राम माधवबीच भेटवार्ता भएको छ । पुर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवालाई भेट्न महासचिव माधव बुढानिलकण्ठस्थित उनकै निवास पुगेका थिए ।

नेपाल–भारत थिंक ट्यांक सम्मिटमा भाग लिन नेपाल भ्रमणमा आएका माधव होटल याक एण्ड यतिबाट सोमबार सांझ बा १८ प ७०९० नम्बरको निजी गाढीमा देउवा निवास पुगेका थिए । उनले सभापति देउवासंग १ घण्टा छलफल गरेको स्रोतको दाबी छ ।

देउवा निकट स्रोतकाअनुसार दुई नेताबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । देउवालाई भेट्नुअघि भाजपा महासचिव माधवले लैनचोरस्थित भारतिय दूतावास पुगेर राजदूत मञ्जिवसिंह पुरीसंग छलफल गरेका थिए ।

चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री वाङ याजुन नेपाल भ्रमणमै रहेका बेला भाजपा महासचिव राम माधवको सक्रियतालाई महत्वका साथ हेरिएको छ । उनले नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट्ने कार्यक्रम छ । भाजपाका अर्का महासचिव अनिल कुमार जैन समेत काठमाडौंमै छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement