काठमाण्डु – संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेशमार्ग छ्याङ्कुटी–दिदिङ्ग २४ किलोमिटर सडक खण्डको समस्या समाधान गर्न लगानी बोर्डले मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज मंगलबार बसेको बोर्डको ५६औं बैठकले मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।
विकासकर्ता एसजेभीएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले १ खर्ब ४४ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको परियोजनाको भौतिक प्रगति ६६.३ प्रतिशत र प्रसारण लाइनतर्फ १५.४६ प्रतिशत रहेको बोर्डका प्रवक्ता अमृत लम्सालले बताए ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधि तथा ५५औं बोर्ड बैठकको निर्णयको कार्यान्वयन अवस्था र ५६औं बोर्ड बैठकका कार्यसूचीका सम्बन्धमा जानकारी गराएका छन् ।
बोर्ड बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, निजी क्षेत्रका विज्ञ सदस्य भवानी राणा, हरिभक्त शर्मा र राजेशकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।




प्रतिक्रिया