डोटी – डोटीका २ छुट्टा छुट्टै स्थानमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको हो ।
डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडामा बम भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार कुचेडामा भेटिएको प्रेसर कुकर बम शनिबार बिहान २ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
त्यस्तै, आदर्श गाउँपालिका–२ को कानेगडामा भेटिएको अर्को बम पनि नेपाली सेनाको टोलीले शनिबार बिहान ९ बजे डिस्पोज गरेको छ ।
आदर्शनगर–२ मा भइरहेको निर्वाचनलाई लक्ष्य गरेर बम विस्फोट गराइएको हो । विस्फोटमा विप्लव समूह संलग्न रहेको आशंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।
त्यस्तै सेनाले सर्लाही हरिपूर्वा नगरपालिका १ स्थित मतदान केन्द्र नजिक फेला परेको बिस्फोटक पदार्थ डिस्पोज गरेको छ ।
मतदान केन्द्रबाट तीन सय मिटर नजिक पानी खाने अम्खराभित्र राखिएको अवस्थामा भेटिएको बिस्फोटक पदार्थ शनिबार सेनाले डिस्पोज गरेको हो ।
प्रहरीका अनुसार अम्खराभित्र बिस्फोटक पदार्थ राखेर मोवाइलमा तार जडान गरेको अवस्थामा भेटिएको बिस्फोटक पदार्थ रणशेर गणका सेनाले डिस्पोज गरेका हुन् ।
मतदान केन्द्रमा भने निर्वाद रूपमा मतदान चलिराखेको छ ।




प्रतिक्रिया