काठमाण्डु – नेपाली सेनाका पूर्व उपरथी डा. रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ ।
शुक्रबार सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उनको पुस्तक लोकार्पण गर्नुका साथै समीक्षा समेत गरिएको छ ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पुस्तकका सम्पादक रामचन्द्र फुयाल, पत्रकार टीकाराम यात्रीले पुस्तकमाथि समीक्षा गरेका थिए ।
१० वर्षे सशस्त्र द्वन्द्वका समयमा २०६० भदौ ११ गते क्षत्रीमाथि तत्कालीन विद्रोही माओवादीका लडाकुले आक्रमण गर्दा घाइते भएका थिए । गोली प्रहारबाट स्पाइनल कर्ड इन्जुरी भएपछि उनले सधै ह्वीलचियरको जीवनयापन गर्न बाध्य छन् ।
क्षत्रीले सेनामा सेवामा ४० वर्ष भोगेका अनुभवदेखि आफ्ना जीवनमा आइपरेका उतारचढावलाई समेटेर पुस्तक निकालिएको फुयालले बताए । जीवन सुन्दर छ, किताबको शीर्षकजस्तै आत्मकथामा लेखकको इमान्दारिता झल्किएको उनले बताए ।
पत्रकार यात्रीले जीवनदेखि निराश हुनेका लागि क्षत्रीको आत्मकथा प्रेरणादायी कृति हुने बताए । पुस्तकमा लेखकले जतिसुकै कठिनाइ आइपरे पनि जीवन सकारात्मक कार्यबाट सुन्दर बनाउन सकिने उदाहरण दिएको बताए ।
सेनापति शर्माले भने क्षत्रीको सेनामा सेवावृत्त हुँदादेखि नै सक्रिय र सिर्जनात्मक स्वभाव रहँदै आएको विगत स्मरण गराए । उनको इमान्दारी, प्रष्ट वक्ता र क्रियाशीलता प्रशंसनीय रहेको उनले बताए । लेखक क्षत्रीले पुस्तकमा आफ्नो पूर्खाले राज्यमा दिँदै आएको योगदानदेखि, बाल्यकाल अवस्था, सेनामा सेवारत हुँदाका अनुभव र शारीरिक रूपले असक्त भएपछि जीवनमा आएका उतारचढावका विषय आत्मकथामा समेटेको सुनाए ।
‘जीवनमा सधै एउटै लयमा चल्दैन रहेछ,’ उनले भने, ‘मेरो भोगाइले पाठकलाई प्रेरणा मिल्छ भने म सफल भएको ठान्छु ।’
यात्रा पब्लिसिङ हाउसले पुस्तक प्रकाशनमा ल्याएको हो । किताब जात्रा शनिबारसम्म रहनेछ ।




प्रतिक्रिया