चञ्चला राजद्वारा लिखित मिथिला विवाह परम्परा सम्बन्धी पुस्तक विमोचन

चञ्चला राजद्वारा लिखित मिथिला विवाह परम्परा सम्बन्धी पुस्तक विमोचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – मिथिला क्षेत्रमा विवाह संस्कारको एउटा आफ्नै संस्कृति र पहिचान छ । ४ दिनसम्म चल्ने विवाह परम्परालाई लिपिबद्ध गर्दै लेखिएको पुस्तक ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’को वीरगञ्जमा आयोजित कार्यक्रमबीच विमोचन गरिएको छ ।

पूर्वमन्त्री लक्ष्मणलाल कर्णको प्रमुख आतिथ्यमा पुस्तकको विमोचन गरिएको छ । पुस्तक विमोचन समारोहलाई सम्बोधित गर्दै पूर्वमन्त्री कर्णले मिथिला विवाह परम्पराबारे लेखिएको पुस्तक आउँदो पुस्ताको लागि ग्रन्थ सरह भएको बताए ।

उनले मिथिला क्षेत्रमा विवाह सम्बन्धी रीतिरिवाजबारे अनेकौं पुस्तक भए पनि केटा पक्ष र केटी पक्षबीच बिहेको कुराकानी सुरु भएको दिनदेखि ४ दिनसम्म चल्ने बिहे समारोहको पूरै परम्पराबारे र बिदाइपछि केटा पक्षको घरमा चल्ने १–१ रीतिरिवाजबारे विस्तारपूर्वक लेखिएको मिथिलाको ग्रन्थ रहेको बताएका छन् ।

पुस्तककी लेखिका वीरगञ्जकी प्रसिद्ध समाजसेवी महिला उद्यमी चन्चला राजले पुस्तकबारे प्रकाश पार्दै मिथिला क्षेत्रमा हुने विशिष्ट विवाह परम्पराबारे सुक्ष्म तरिकाले जानकारी दिनुको साथै हरेक परम्पराको सामाजिक र वैज्ञानिक महत्त्वबारे जानकारी दिइएको छ ।

५ वर्ष लगाएर मिथिलाको हरेक क्षेत्रमा हुने मौलिक परम्परा र रीतिरिवाजलाई समेट्दै पुस्तक तयार पारिएको लेखिका चञ्चला राजले आउने समयमा मिथिला क्षेत्रको विवाह समारोहमा पुस्तकको अत्यन्त महत्त्व हुने र विवाहको लागि एउटा अनिवार्य कुरा हुने बताएकी छन् ।  

मिथिला क्षेत्रमा हुने विवाह समारोहमा सानो–सानो विधि व्यवहार परम्परा र रीतिरिवाजबारे प्राय:जसो विवाह गराउने पुरोहित र समाजका वयोवृद्धबीच वादविवाद हुने गरेको र कहिलेकाहीँ यही कारणले विवाह समारोहमा ठूलो विवाद पनि आउने गरेको बताउँदै लेखिका चञ्चला राजले अब पुस्तक आएपछि यस्ता समस्या नआउने र मिथिला क्षेत्रमा मान्यजन र विद्वतजनहरूले मान्यता दिएका कारण पुस्तक विवाहको विधान जस्तै बन्ने आफूले अपेक्षा लिएको बताएकी छन् ।

पुस्तकको भूमिका मैथिलीकी प्रसिद्ध साहित्यकार र भारत सरकारको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीबाट सम्मानित साहित्यकार डा. शेफालिका वर्माले लेखेकी छन् । विमोचन समारोहमा भिडियो सन्देशमार्फत आफ्नो शुभकामना पठाएकी वर्माले पुस्तकले नेपाल र भारतको मिथिला क्षेत्रमा मात्रै सीमित नभएर विश्वको जुनसुकै देशमा बसोवास गर्ने मिथिलवासीहरूको आफ्नो वैवाहिक परम्परा र रीतिरिवाजबारे ज्ञान आर्जित गर्नका लागि एउटा अनुपम उपहार रहेको बताएकी छन् ।

पुस्तक विमोचन समारोहमा मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य, चर्चित लेखक तथा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेश लाठ, चित्रगुप्त समिति पर्साका अध्यक्ष महेश दास लगायतको उपस्थिति थियो ।

कार्यक्रममा मिडियाकर्मी प्रियंका पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने हिन्दी भाषाका प्रसिद्ध लेखक एवं कवि प्रा. राजेन्द्र राहीले धन्यवाद ज्ञापन गरेको कुरा आयोजक समितिकी प्रमुख निहारिका दासले जानकारी दिएकी छन् ।