काठमाण्डु – छन्दकविता र गजललेखनमा सक्रिय रूपक अलङ्कार नयाँ कवितासङ्ग्रह ‘शान्त शर्वरी’ लिएर आएका छन् ।
शनिबार उनको नवीनतम् कविताकृति ‘शान्त शर्वरी’ लोकार्पण गरियो । कवि भुवनहरि सिग्देल, प्राडा. भागवत ढकाल, डा. विन्दु शर्मा तथा साहित्यकार शैलेन्द्र अधिकारीले कविता कृतिको संयुक्त रूपमा विमोचन गरे ।
‘शान्त शर्वरी’ कवितासङ्ग्रहमा ५० वटा कविताहरू सङ्कलित छन् । कवितामाथि टिप्पणी गर्दै सिग्देलले अलङ्कारले छन्दकविता लेखनमा कुशलता र सशक्तता प्राप्त गरेका बताए । प्राडा. भागवत ढकालले कवि अलङ्कारले आफ्ना कवितामा पूर्वीय दर्शनलाई निचोरेर आलङ्कारिक ढङ्गमा प्रस्तुत गरेका बताए ।
विषयगत विविधतालाई कवितामा उल्लेख्य स्थान दिएको चर्चा गर्दै अर्का समीक्षक डा. विन्दु शर्माले अलङ्कारका कवितामा प्रगतिवादी चिन्तन भेटिने कुरा उल्लेख गरिन् । त्यस्तै, शैलेन्द्र अधिकारीले अलङ्कारका कवितामा प्रगतिवादका साथमा व्यङ्ग्यको समिश्रण भेटिने उल्लेख गरे ।
विभिन्न पिङ्गल छन्दलाई कुशलतापूर्वक खेलाउने अलङ्कारका २ वटा कविता विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गाएका थिए भने ज्ञानु विद्रोही, देवु लुइँटेल र केशव भट्टराईले एकरएकवटा कविता वाचन गरेका थिए ।
यसअघि उनका ‘देशको पुर्पुरो’ गजलसङ्ग्रह र ‘विश्रान्त’ महाकव्य प्रकाशित छन् । कवि अलङ्कारको यो तेस्रो काव्यकृति हो । उनको अनुवादमा ‘चाणक्यनीतिदर्पणं’ पनि प्रकाशित छ ।




प्रतिक्रिया