चीनको सीमातर्फ दार्चुलाको तिंकरमा सशस्त्र प्रहरीको बिओपी स्थापना

चीनको सीमातर्फ दार्चुलाको तिंकरमा सशस्त्र प्रहरीको बिओपी स्थापना


दार्चुला-  सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ दार्चुलाको व्याँस गाउँपालिकाको छयाँलेक तिंकरमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ । बिओपीको सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले शुक्रबार उद्घाटन गरेका छन् ।

दार्चुला सदरमुकामबाट करीव १ सय १२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्गरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करीव ११ किलोमिटरको दुरीमा रहेको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला सहित ८ ठाउँमा बिओपी स्थापना गरीसकेको छ ।

तिंकरमा स्थापना भएको बिओपी सहित चीनतर्फ ९ वटा र भारततर्फ २ सय ४३ गरी बिओपीको संख्या २ सय ५२ वटा पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बिओपी स्थापनाको लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भाद्र १३ मा त्यसतर्फ पु¥याईएको थियो । नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुकहरु भारतको नाभिडाङ्ग र चीनको ताक्लाकोट बजार नजिकै पर्दछ ।