काठमाडौं – भारतसंग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएको छ । बेलडांडी गाउंपालिकाको वडा नम्बर ५ झिलमिलमासशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरी गणले हेर्नेगरी बिओपी स्थापना भएपछि स्थानीय बासिन्दाहरुले खुसी व्यक्त गरेका छन् ।
झिलमिलामा स्थापना भएको बिओपीको सुदूरपश्चिम प्रदेश बैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख डीआईजी गोबिन्द क्षेत्री र बेलडांडी गाउंपालिका प्रमुख धनबहादुर थापाले संयुक्त रुपमा सोमबार उदघाटन गरेका छन् ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरी गणका गणपति बिरबहादुर शाहुले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध न्यूनिकरणका लागि बिओपी स्थापना गरिएको बताए ।
बैद्यनाथ बाहिनी अत्तरियाका डीआइजी गोबिन्द क्षेत्रीले सशस्त्र प्रहरी बललाई सरकारले दिएको जिम्मेबारीअनुसार बिओपी स्थापना भएको बताए । उनले चीन र भारतका सीमा क्षेत्रका १०७ स्थानमा बिओपी स्थापना गरिएको जानकारी दिए ।
बेलडांडी गाउंपालिका प्रमुख धनबहादुर थापाले बेलडांडीमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएसंगै स्थानीय बासिन्दाको सुरक्षा र सीमा सुरक्षामा मद्दत पुग्ने बताए ।




प्रतिक्रिया