सुरु भयो विपी राजमार्गको पुनर्निर्माण

सुरु भयो विपी राजमार्गको पुनर्निर्माण

भकुन्डेबेसीदेखि नेपालथोकसम्म दुई लेन सडक बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाढी–पहिरोले लगातार क्षतिग्रस्त बनाएको बिपी राजमार्गको रोशी खोला सडक खण्डमा पुनः निर्माणको काम सुरु भएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार गत वर्ष र यस वर्षको बाढी पहिरोले रोशी खोला क्षेत्रमा बिगारेको साढे ३० किलोमिटर सडकमध्ये २७.३ किलोमिटर क्षेत्रमा निर्माणको काम अघि बढेको हो ।

नेपाल सरकारको बजेटमा ठेक्का लागेका सडकको निर्माण व्यवसायीले निर्माण सुरु गरेका सडक डिभिजन कार्यालय भक्तपुर र सिन्धुलीले बताएका छन् । तर जापानको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) अन्तर्गत निर्माण हुन लागेको ३.२ किलोमिटर सडक खण्डमा भने अझै ठेक्का प्रक्रिया अघि नबढेकाले निर्माण सुरु हुन सकेको छैन । जाइकाले कात्तिक दोस्रो साता दुई पटक क्षग्रिस्त सडकको अवलोकन र निरीक्षण गरेको थियो ।

जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए ।

सार्वजनिक खरिद ऐनअनुसार ठेक्का लागि सकेका क्षेत्रमा निर्माण कार्य सुरु भएको जनाइएको छ ।

विगतमा सिङ्गल लेन रहेको बिपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको भागमा बाढीले क्षतिग्रस्त पारेपछि पुनर्निर्माणमार्फत दुई लेन सडक निर्माण गरिँदै छ ।

राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन प्याकेज र सिन्धुलीतर्फ एक प्याकेज गरी ठेक्का सम्झौता भएको छ । सडक निर्माण सुरु भइसके पनि राजमार्गमा पर्ने पुल निर्माणका लागि भने ठेक्का प्रक्रिया पूरा नहुँदा कार्य सुरु हुन सकेको छैन ।

यसले गर्दा पुराना साँघुरा पुलका कारण राजमार्गमा ट्राफिक जाम बढ्ने समस्या यथावत् रहेको स्थानीयहरूले बताएका छन् ।