विपीकाे विचारलाई रुपान्तरण गर्दै देशकाे विकास गर्नुपर्छ : राजन केसी

विपीकाे विचारलाई रुपान्तरण गर्दै देशकाे विकास गर्नुपर्छ : राजन केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार(राजन) केसीले जननेता विश्वेश्वरप्रसाद कोइरालाकाे विचारबाट अब मुलुककाे विकास गर्नुपर्ने बताएका छन् ।

विपी कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा विपी वाटिका वृत्त, शेषनारायणले आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद केसीले प्रजातन्त्र स्थापनामा विपीकाे भूमिकाकाे प्रशंसा गर्दै दक्षिण एसियाकै सफल नेता विपीकाे विचारलाई रुपान्तरण गर्दै सबै मिलेर देशकाे विकास गर्नुपर्ने बताए ।

‘रैतीलाई जनता कसरी बनाउने र प्रजातन्त्रका मार्फतबाट मुलुककाे विकास हुन्छ र जनताकाे सुख, समृद्धि हासिल हुन्छ भन्ने विचारका साथ आजीवन लाग्नुभएका महामानव विपी नेपालकाे मात्र नभएर दक्षिण एसियामै आफूलाई स्थापित गर्न सफल हुनुभयाे।’, सांसद केसीले भने, ‘राणा शासनकाे अन्त्य गरी जनता र प्रजातन्त्रकाे पक्षमा रुपान्तरण गरेर कसरी मुलुककाे विकास गर्ने भन्ने विपीकाे विचार देश विकासकाे लागि अहिले पनि उत्तिकै सान्दर्भिक छ ।’

सांसद केसीले अब दक्षिणकाली क्षेत्रलाई जैविक विविधताका रुपमा विकास गरिने बताए । बाँझाे जमीनकाे सदुपयाेग गर्दै रुख र वन पैदावारबाट स्थानीयरुपमा राेजगारी सिर्जना गराउने र जनताकाे आय आर्जन बढाउने तर्फ सबै लाग्नुपर्ने उहाँले बताए ।

उक्त कार्यमा जुट्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई सांसद केसीले आग्रह गरे । वृक्षरोपण कार्यक्रममा विपी काेइराला स्मृति प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत(सिईओ) राजेन्द्र पराजुलीले दक्षिणकाली नगरपालिकामा वृक्षरोपण मार्फत सुरु भएकाे विपी वाटिका वृत्त, शेषनारायण र स्थानीय नेतृत्वले थालेकाे अभियानले स्वर्गीय जननेता काेइरालालाई सच्चा सम्मान मिलेकाे बताए ।

विपी काेइराला स्मृति प्रतिष्ठानका सिईओ राजेन्द्र पराजुली स्थानीय सम्पदा, जैविक महत्व र सबै कुरालाई विश्लेषण गरेर सुरु गरिएकाे याे अभियान सबैकाे साझा रहेकाे भन्दै सिईओ पराजुलीले यस क्षेत्रका स्थानीय व्यक्ति तथा समाजकाे नेतृत्वमाझ विपी वाटिका वृत्तले एउटा छहारीकाे रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।

विपी कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा दक्षिणकाली नगरपालिका-५, शेषनारायणमा आज विपी वाटिका वृत्त स्थापना गरिएकाे हाे । कार्यक्रममा बागमती प्रदेशका सांसद पुकार महर्जन, दक्षिणकाली नगरपालिकाका प्रमुख माेहन बस्नेत, उपप्रमुख बसन्ती डंगाेल तामाङ, वडा नं ५ प्रमुख श्याम खत्री र स्थानीय जनप्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे ।