बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ७ दिने ‘अल्टिमेटम’

बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ७ दिने ‘अल्टिमेटम’


काठमाण्डु– वीरगञ्ज महानगरले घण्टाघरचोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्यापार गर्दै आएका व्यापारीलाई ७ दिनभित्र खाली गर्न दोस्रोपटक ‘अल्टिमेटम’ दिएको छ ।

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गत शुक्रबार दोस्रोपटक सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र घण्टाघरस्थित बिपी उद्यान हाताभित्र सञ्चालनमा रहेका तरकारी तथा फलफूल बजार खाली गर्नका लागि आह्वान गरेका हुन् ।

महानगरले यसअघि मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो । सो म्याद पनि गत पुस १० गते सकिएको थियो । तर सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गर्दै आइरहेका छन् ।

 प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरले बिपी उद्यानमा तरकारी तथा फलफूल बिक्री वितरण गर्दै आइरहेका व्यापारीलाई महानगर–१६ मा रहेको नगवास्थित कृषि बजारमा व्यवस्थापन गर्न लागेको जानकारी दिए ।