काठमाण्डु– नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा सांसद वृजेशकुमार गुप्ताले पार्टी परित्याग गरेका छन् ।
पूर्वसंघीय मन्त्री समेत रहेका गुप्ताले एमालेको नेतृत्वको मुख्य ध्यान नै भ्रष्टाचारलाई संरक्षण गर्ने देखिएको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।
२०७८ चैतमा हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी त्यागेर उनी एमालेमा आएका थिए ।
उनले कपिलवस्तुको क्षेत्र नम्बर २ बाट विगतमा चारपटक चुनाव जितेका उनी एमालेमा आएपछि भने हारेका थिए ।
६४ सालमा मधेस आन्दोलनको प्रभावपछि तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पार्टीबाट ०६४ को पहिलो संविधानसभाको चुनाव जितेका उनले २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पनि तमलोपाबाट जितेका उनी २०७४ सालमा एमालेको सूर्य चिह्नबाट जितेका थिए ।
जेन–जी आन्दोलनकै समयमा उनले पार्टी त्याग्ने संकेत गरेका थिए ।
दुई ठूला दल मिलेर जे गरेपनि हुन्छ भन्ने दम्भ देखाएको र एमाले नेतृत्व सुध्रिने लक्षण नदेखेपछि पार्टी परित्याग गरेको गुप्ताले बताएका छन् ।
उनले भने ‘म स्पष्ट गर्न चाहन्छु मलाई निर्वाचनमा विजयी बनाउने पनि तपाईंहरू नै हुनुहुन्छ, र पराजित गर्ने पनि तपाईंहरू नै । जनता नै मेरो सबैभन्दा ठूलो शक्ति र मार्गदर्शक हुनुहुन्छ । तपाईंहरू मेरो सोचको आधार, मेरो आदर्शको स्रोत, मेरो दुःख(सुखको साझेदार हुनुहुन्छ । तपाईँहरूले जे चाहनुहुन्छ, म त्यही गर्न तयार छु किनकि मेरो जीवनको हरेक पाइला तपाईंहरूकै लागि हो ।’
देशमा घटेका विभिन्न घटनाक्रमहरूले मेरो मनलाई गहिरो रूपमा छोयो । जेनजीका युवा साथीहरूको अनुरोधले मलाई नयाँ जिम्मेवारीको बोध गरायो । तिनै घटना र तिनै युवाहरूको आवाजले मलाई अर्को बाटो अपनाउन बाध्य बनायो । म त्यो बाटोमा हिँडिरहेको छु र सधैँ हिँडिरहनेछु किनकि मैले सबैको सम्मान गर्न सिकेको छु, सबैको भावनालाई आत्मसात् गर्न सिकेको छु । उनले थपे ।




प्रतिक्रिया