अंग्रेज सेनालाई हराएको बुटवलको जितगढी किल्ला वीरताको चिनो

अंग्रेज सेनालाई हराएको बुटवलको जितगढी किल्ला वीरताको चिनो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दुई सय वर्षअघि नेपालले अंग्रेजसँग देशका विभिन्न ठाउंमा युद्ध लडेको थियो। अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले प्रत्येक स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन। कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाई भएको थियो। तर, बुटवलमा भने नेपालले जित हासिल गरेको थियो।

कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि १८७२ सालमा जित हासिल गरेको थियो। त्यही जित हासिल गरेको वीरताको चिनो जितगढी किल्ला हाे। जसले अहिले पनि नेपाल–अंग्रेज युद्धलाई सम्झाउँछ। । यो ऐतिहासिक सम्पदाको २ सय ३ वर्षपछि मात्रै सरकारी तवरबाट संरक्षण थालिएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ तिनाउ नदीपारिको किनारमै पूर्वपश्चिम राजमार्गसँगै जोडिएर जितगढी किल्ला रहेको छ । सामान्य तारवारले सुरक्षा दिइएको यो किल्ला क्षेत्र केहीसमयअघिसम्म गाईबाख्रा चर्ने थलो बनेको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यसको संरक्षण थालिएको छ । बुटवल उपमहानगरपालिकाले यसको गुरुयोजना निर्माण गरेर जितगढी क्षेत्रलाई पर्यटकीय थलोका रुपमा विकास गर्ने योजना बनाएको छ ।

उपमहानगरपालिकाको योजना अनुसार जितगढी किल्ला रहेको भागको दक्षिण र उत्तर भागमा भौतिक संरचना बन्नेछन् । जितगढी किल्लासँगै रहेका कभर्ड हल, वडा कार्यालयलाई हटाइएको छ । किल्लाको वरिपरि रहेको सार्वजनिक जग्गामा मनोरम बगैचा र राजमार्गभन्दा उत्तरको भागलाई संग्राहालय, रात्रीकालीन बजार, कोशेली पसलहरु, बगैचा बनाउने उपमहानगरपालिकाको योजना रहेको छ।

‘बटौली युद्धकालीन संग्रहालय बनाएर त्यो बेला युद्धमा प्रयोग गरिएका तोपहरुको संग्रह गर्ने, मणिमुकुन्दसेन शीतकालीन दरबार, युद्धको बेलामा हतियार भण्डारण गर्ने काठेगढी र नुवाकोटगढीसँग जोडेर विकास गरिनेछ,–उनले भने–युद्धका क्रममा शहादत्त प्राप्त गर्ने ९ जनाको नाम खुलेको छ र अरु सेनाको पनि नाम खोजेर शालिक निर्माण गरिनेछ, यसैबाट बुटवलको पर्यटनमा टेवा पुग्नेछ ।’

उपमहानगरपालिकाले २ बिगाह भन्दा बढी जग्गा जितगढी किल्ला क्षेत्रमा पर्यटकीय स्थल बनाउनका लागि प्रयोग गर्ने योजना बनाएको छ । प्रस्तावित गुरुयोजनाअनुसार तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय स्थल बनाइनेछ ।

जितगढी किल्लाको संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले मात्रै हैन, प्रदेश र संघ सरकारले पनि चासो दिएका छन् । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा १ करोड, प्रदेश सरकारले १ करोड ६० लाख र संघ सरकारले ५० लाख रुपैयाँ बजेट छुट्टाएका छन् । जितगढी विजय उत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले शालिकको अनावरण र झण्डोत्तोलन गर्नेछन् । जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो । जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे ।

यो लडाइँमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो । इतिहासका जानकारहरुका अनुसार पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजीरसिंह थापाले अग्रेजविरुद्धको युद्धमा वि.सं. १८७२ मा विजय हासिल गरी विजय पताका फहराएका थिए ।