काठमाडौं महानगरले ल्यायाे २ करोड १५ लाखमा पाँचवटा ब्रुमर, दैनिक पाँच रूटमा धुलाे सफा गरिने

काठमाडौं महानगरले ल्यायाे २ करोड १५ लाखमा पाँचवटा ब्रुमर, दैनिक पाँच रूटमा धुलाे सफा गरिने


काठमाडौं–महानगरका सडकमा आजदेखि नियमित ब्रुमर लगाएर सफाइ गरिने भएको छ । इटलीबाट आयात गरिएका ५ वटा आधुनिक ब्रुमरको (आज) मंगलबार सञ्चालन शुरुवात् गरिएसँगै सडकमा ब्रुमर चल्ने भएका हुन् । यस अघि परीक्षणमा रहेका ब्रुमरहरुको औपचारिक सञ्चालन शुरुवात् महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले गरे।

सभा गृहमा राखिएका ब्रुमर सञ्चालन गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै मेयर शाक्यले भन्नुभयो — ब्रुमरको प्रयोगले सहर सफा हुन सहयोग पुग्छ । तर, ब्रुमर चलाएर मात्र हुने होइन । काठमाडौंमा हिउँदमा धुवाँ उड्छ बर्खामा हिलोको समस्या हुन्छ । यो समस्या घटाउन मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयलाई खनिएका सडक तत्काल पुर्न, सडक बिभागलाई मुल सडकका समस्या समाधान गर्न र काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई ढलको सफाइ गर्ने जिम्मेवारी तोकेका छौं । गएको हप्ता सडकमा काम गर्ने अड्डाका प्रमुखहरुसँगको बैठकमा भएका निर्णय उधृत गर्दै मेयर शाक्यले थपे — सहरको सफाइ एक्लैले गरेर मात्र पुग्ने होइन । यसका लागि बिकासे अड्डादेखि नागरिकसम्मको सहभागिता चाहिन्छ ।

सहरमा ब्रुमर लगाउने काम ठूलो होइन तर यसमा बिकास साझेदार सबैलाई बोलाउनु प¥यो । मेयर शाक्यले बिकास पद्धतिप्रति संकेत गर्दै भने — सबै भेला भएर ब्रुमर चलाउँदा सबैमा जिम्मेवारी बोध हुने विश्वाश गरेको छु ।

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — बिकास व्यवस्थापन गर्ने जिम्मेवारी महानगरमा आइ नसकेकोले नागरिकका चाहना पूरा गराउन अरु निकायलाई सोध्दै हिँड्नु परेको बताउनुभयो । काम जसले गरेको होस् जिम्मेवारी हाम्रो हो । तर, जे जिम्मेवारी हो, त्यस अनुसार उत्तर दिन सक्ने गरि सेवा एकीकृत भएको छैन । समस्याको जरो देखाउँदै उनले, सहरी सेवा एकीकृत गर्ने दिशामा महानगर रहेको बताए।

ब्रुमर चलाउन थालियो अब सहर सफा चट् हुन्छ भन्ने होइन, समारोहमा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले — सफाइमा सबैले दायित्व बोध गर्नु पर्ने खाँचो देखाए। महानगर गरिरहने अरु हेरिरहने गर्नु हुँदैन, उनको भनाइ थियो । कार्यक्रममा पूर्व कार्यकारी अधिकृत ईश्वरराज पौडेल पनि उपस्थित थिए। उनले ब्रुमर खरिद गर्ने समयमा आफूले गरेको निर्णय उल्लेख गर्दै भन्नुभयो — सडक सफाइ गर्ने जिम्मेवारी सबैको हो । भारतको चण्डीगढमा एउटा ब्रुमरले १ हजार किलोमिटर सडक सफा गर्छ भने काठमाडौंमा किन हुँदैन?

काठमाडौंमा उपभोक्ताको खर्च गर्न सक्ने क्षमता बढ्दै गएको, व्यापारमा वृद्धि भएको, मेला पर्वका गतिविधि बढ्दै गएको तथा प्रविधिजन्य उत्पादन बढेकोले फोहोरको मात्रा र प्रकृति बढेको जनाउँदै वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले — ब्रुमरको प्रयोगसँगै प्रकोपजन्य, प्रदुषणजन्य, औद्योगिक, र चिकित्साजन्य फोहोर व्यवस्थापनमा थप कार्यक्रमको खाँचो देखाए।

युरो ४ एमिसन स्ट््याण्डर्डका डुलेभो ६००० मोडेलका यी ब्रुमरको इञ्जिन क्षमता १०७ किलोवाट रहेको छ । अगाडि एउटा, छेउमा दुईवटा र बीच भागमा एउटा ब्रस भएको ब्रुमरमा ५०० लिटरको पानी ट््याङ्की र ४.६८ घन मिटरको धुलो भण्डारण क्षमता छ । यसको अधिकतम सफाइ क्षमता २५ हजार स्क्वायर मिटर (०.०२५ स्क्वायर किलोमिटर) प्रति घण्टा हो । ब्रसले न्युनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छ भने सफाइका क्रममा यसको अधिकतम गति १० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

५ थान ब्रुमर इटालीमा परेको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो हो । यसबाहेक स्पेयर पार्टसको भन्सार शुल्क २६ लाख १६ हजार ८ सय ६१ रुपैयाँ र कलकत्तादेखि काठमाडौंसम्मको ढुवानी खर्च ३० लाख रुपैयाँ लागेको छ । त्यस्तै ब्रुमर आयात गर्दा ५ वटा ब्रमुरको बीरगञ्ज भन्सारमा भन्सार शुल्कवापत् २ करोड १५ लाख १७ हजार ४ सय ३६ रुपैयाँ तिरिएको छ ।

यी ब्रुमरको तेश्रो पक्ष बीमावापतको रकम तिर्ने, आउँदो ३ बर्षसम्म महानगरले तोकेको रुटमा सञ्चालन तथा सर्भिसिङ्को खर्च अधिकृत बिक्रेताले व्यहार्नेछ । ब्रुमरमा लाग्ने इन्धन महानगरले उपलब्ध गराउनेछ ।

ब्रुमरहरु रातको समयमा सञ्चालन हुनेछन् ।

ब्रुमर सञ्चालन हुने रुटहरुः

रुट नं. १ टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकीत्यसपछि सोल्टीमोड — टेकु — त्रिपुरेश्वर — सुन्धारा — नयाँ सडक — जुद्ध सालिक —महाङ्काल —जमल — लाजिम्पाट — शितलनिवास — शिक्षण अस्पताल —नारायण गोपालचोकसम्मको मुल सडक । त्यस्तै जमल — विश्वज्योति — घण्टाघर — भद्रकाली — सहिद गेट हुँदै सुन्धारासम्म

रुट नं. २. टेकुबाटत्रिपुरेश्वर — थापाथली — माइतीघर मण्डला — बबरमहल — बानेश्वर — तीनकुने हुँदै अन्तरराष्ट्रिय बिमानस्थल सम्म । त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर — जडिबुटीहुँदै पेप्सिकोलासम्म । पेप्सिकोला चोकबाट कोटेश्वर — नयाँबानेश्वर — बबरमहल — माइतीघर मण्डला — थापाथली — त्रिपुरेश्वर — टेकु — कालीमाटी — बल्खु पुगेर त्यही सडकबाट फर्किएर — कालीमाटीहुँदै टेकुसम्म ।

रुट नं. ३ टेकुबाट त्रिपुरेश्वर — सुन्धाराहुँदै भोटाहिटी —विश्वज्योति — घण्टाघर — भद्रकाली — सिंहदरवारबाट पुतलीसडकतर्फको सडक । पुतली सडकबाट कमलादीमोड — हात्तीसार — जय नेपाल हल — दरबार मार्ग — कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौं प्लाजासम्मको सडक । त्यस्तै दरबारमार्गमा रहेको महेन्द्रको शालिकबाट नारायणहिटीहँुदै केशरमहलचोक — त्यसबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भ विभाग अगाडिको चोक —नारायण हिटीको उत्तर गेट — गैरी धारा (प्रहरी हेड क्वाटर पछाडिको चोक) — सभामुख क्वाटर — राष्ट्र बैक — प्रधानमन्त्री निवास (वालुवाटार) रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा ३ कार्यालयसम्मको सडक । फकिँदा शितलनिवास — पानीपोखरीहुँदै लैनचौर — सोह्रखट्टे — बालाजु चोक (रिङ्गरोड) — सोह्रखुट्टेबाट — बिष्णुमती लिङ्क रोड — ईन्द्रायणी — नरदेवीपुलदेखि टेकुसम्मको सडक ।

रुट नं. ४. टेकुबाट पुतलीसडक — कमलपोखरी — ज्ञानेश्वर — मैतीदेवी — पुरानो बानेश्वर — सिनामंगल — एअरपोर्ट गेट — गौशाला — चाबहिल — होटल हायात चुच्चेपाटी — फर्किएर चाबहिल — गौशाला — बत्तीसपुतली— पुरानो बानेश्वर — मैतीदेवी — डिल्लीबजार — पुतलीसडक — प्रदर्शनी मार्ग — सिंहदरबार — माइतीघर मण्डला — थापाथली — त्रिपुरेश्वर — टेकु ।

रुट नं. ५. टेकुबाट त्रिपुरेश्वर — पोष्ट अफिस — न्यूरोड गेट — बसन्तपुर — ईन्द्रचोक — न्यूरोड —महाङ्काल — जमल — केशरमहलबाट त्रिदेवीमार्ग । ठमेलबाट फर्किएर दरबार मार्ग — घण्टाघर — भद्रकाली — सिंहदरवार — माइती मण्डला सिंहदरबारको दक्षिण ढोका । हनुमान स्थानबाट — थापागाउँ —अन्तराष्ट्रिय सम्मेलन केन्द्र — त्यहाँबाट पुरानो बानेश्वरतर्फ रत्नराज्य स्कूल — मध्यबानेश्वर — बत्तीस पुतलीचोक — मैतीदेवी — डिल्लीबजार — बागबजार — प्रदर्शनीमार्ग — भद्रकाली —त्रिपुरेश्वर हुँदै टेकु — बल्खु, कलङ्की — सीतापाइला — बालाजु — गोङ्गबु — नारायण गोपाल चोक — चाबहिल, ज्ञानेश्वर — डिल्लीबजार — बागवजार — पुरानो बस पार्क — त्रिपुरेश्वर — टेकु