बुद्ध एयर दुर्घटना अपडेट : यी हुन् घाइते यात्री (नामसहित)

बुद्ध एयर दुर्घटना अपडेट : यी हुन् घाइते यात्री (नामसहित)


काठमाण्डु – भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन्।

काठमाण्डुबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ तीनसय मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले बताए।

जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए। तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका हुन्।

घाइते हुनेमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाण्डु–१६ की ४० वर्षीया मुना घतानी र काठमाण्डु–१६ की १६ वर्षीया प्रिया घतानी रहेका प्रहरीले जनाएको छ।

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि लगेको थियो।
टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए।

जहाज काठमाण्डुबाट भद्रपुरका लागि शुक्रवार राति ८ : २३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ : १० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको हो।