१३ खर्बको बजेट विकासमा जम्मा एक खर्ब खर्च


काठमाडौं – आर्थिक वर्षको १० महिनामा नेपाल सरकारले बजेटको आधा अर्थात् ५० प्रतिशत मात्रै खर्च गरेको छ । चालू आर्थिक वर्षको संघीय बजेट १३ खर्ब १५ अर्ब १६ करोडमध्ये वैशाख मसान्तसम्म जम्मा ६ खर्ब ६१ अर्ब ९७ करोड मात्रै खर्च भएको हो । सरकारले मध्यावधि समीक्षामार्फत बजेटमा संशोधन गरी ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँ मात्रै खर्च हुने लक्ष्य तय गरेको छ ।

आर्थिक वर्षको १० महिनामा त्यसको पनि जम्मा ५५ दशमलव २ प्रतिशत मात्रै खर्च भएको छ । यसको अर्थ चालू आर्थिक वर्ष ०७५र७६ सम्पन्न हुन ६३ दिनमा करिब साढे पाँच खर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ ।

दुईतिहाइ बहुमतसहितको बलियो सरकारले ल्याएको बजेट खर्च गत आर्थिक वर्षको तुलनामा पनि कमजोर देखिएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म सुरु अनुमानको ५९ प्रतिशत बजेट खर्च भएको थियो । त्यस वर्ष १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएकोमा १० महिनामा सात खर्ब ५६ अर्ब ३६ करोड बजेट खर्च भएको थियो ।

दैनिक आठ अर्ब ५२ करोड खर्च गर्नुपर्ने

०७६ को असार मसान्तभित्र चालू आर्थिक वर्षको बजेट खर्च गरिसक्ने हो भने दैनिक आठ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । सार्वजनिक बिदा, पर्वलगायतलाई कटाउने हो भने खर्चको दर दैनिक झन्डै नौ अर्ब रुपैयाँ पुर्‍याउनुपर्नेछ । तर, १० महिना अर्थात् तीन सय दुई दिनमा गरिएको खर्चको दर हेर्दा यो लक्ष्य पूरा हुन देखिँदैन । अहिलेसम्मको प्रगति हेर्दा दैनिक दुई अर्ब १९ करोड १९ लाख रुपैयाँ खर्च भइरहेको देखिन्छ । यस आधारमा अब असार मसान्तभित्र बाँकी बजेट खर्च गर्न दैनिक बजेट खर्च गर्ने दर झन्डै चार गुणाले वृद्धि गर्नुपर्ने हुन्छ ।

कुल विनियोजित बजेटलाई आधार मान्ने हो भने खर्चको अवस्था अझ भयावह देखिन्छ । कुल विनियोजित बजेटको अहिलेसम्म ५० दशमलव ३३ प्रतिशत मात्र खर्च भएको छ । यसको अर्थ दुई महिनामा बाँकी ४९ दशमलव ६७ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था हुने थियो । सरकारले चालू आवमा १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँ मात्र खर्च गर्ने अनुमान गरेको छ । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement