बजेट अधिवेशन आजदेखि सुरु हुँदै


काठमाण्डु – आजदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन सुरु हुन लागेको हो । हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो ।

बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् । त्यसपति सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।

यसैगरी सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । त्यसपछि सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement