बाजुरा – सर्पको टोकाइबाट बाजुराका १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिवेणी नगरपालिका चौसाल निवासी सर्जन बुढा छन् ।
४० वर्षीय सर्जनलाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमला कुमारी जैशी न्यौपानेले बताएकी छन् ।
दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो । टोकेपश्चात उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको बताइएको छ ।
चौसाल निवासी स्थानीय कलाकार समेत रहेका सर्जन बुढा गौरीगंगा नगरपालिकाको राजीपुरमा बस्दै आएका थिए । उनी अशक्त शरीरका साथै नेत्रहीन थिए ।
प्रतिभाशाली कलाकार, सुरिलो स्वरका धनी दृष्टिविहीन गायक सर्पको टोकाइबाट निधन भएकोप्रति त्रिवेणी नगरपालिकाले दु:ख व्यक्त गरेको छ । सर्जन बुढाप्रति भावपुर्ण श्रद्धाञ्जलिसँगै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट समेत गरिएको छ ।




प्रतिक्रिया