गोरखा – बूढीगण्डकी जलविद्युत आयोजनाबाट पूर्ण र आंशिक रुपमा प्रभावित नागरिक शान्तिपुर्ण आन्दोलनमा उत्रिएका छन् ।
बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाइमा वुधबारदेखि प्रभावित नागरिकहरुले गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनटारस्थित बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा, पुनर्वास तथा पुनःस्थापना इकाईमा प्रभावितले धर्ना थालेका हुन् ।
उनीहरुले आयोजनाको मोडालिटी टुङ्ग्याएर निर्माण कार्य सुरु गर्न, घरगोठ बोटविरुवाको लगत सार्वजनिक, दररेट निर्धारण र मुआब्जा वितरण गर्नुपर्नेलगायतका माग राखेर धर्ना सुरु गरेका हुन् ।
पहिलो दिन गोरखाको घ्याल्चोक र धादिङको सलाङका प्रभावित धर्नामा सहभागी भएका छन् । दुवै जिल्लाका डुबान प्रभावित क्षेत्रका स्थानीयहरुलाई पालैपालो धर्नामा सहभागी हुने सरोकार समितिले जनाएको छ । ऐलानी जग्गामा बसोबास गर्नेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा वितरण गर्न प्रभावितले माग राखेका छन् ।
‘फिल्डबुकमा जग्गा भएको तर लालपूर्जामा नभएको जग्गा, सिमानामा परेका जग्गा, कित्ता नम्बर फरक परेका जग्गा, लालपूर्जा खेत भए पनि पाखोको मुआब्जा पाएको जग्गाको गुनासो तत्काल सम्बोधन रिनुपर्ने डुवान प्रभावितको माग छ ।
डुबान प्रभावितको मागको सम्बोधन गर्न दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम सुरु गरिएको बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
गोरखा र धादिङको सिमानाका बन्न लागेको १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनका कारण साविकका २८ गाविसका स्थानीय प्रत्यक्ष प्रभावित बनेका छन् । आयोजनाका निर्माणका लागि जग्गाको मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।




प्रतिक्रिया