काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद् भवनको आकस्मिक अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधिसभा हलका साथै मल्टीपर्पोज हलको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै संसद् बैठक बस्ने कक्ष तयार नहुँदा मल्टीपर्पोज हललाई तयार गर्न लागिएको छ । अध्यक्ष दाहालले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणका लागि बनिरहेको मल्टीपर्पोज हलको प्रगतिका बारेमा पनि जानकारी लिएका छन् ।
शहरी विकास मन्त्रालयका अधिकारीका अनुसार शनिबारसम्म मल्टीपर्पोज हललाई सभाकक्षका रूपमा निर्माण गरिसक्ने बताएका छन् । भवन परिसरको सरसफाइ पनि गरिने उनीहरूले बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन भने अझै १–२ महिना लाग्ने उनीहरूको भनाइ छ ।
अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण र त्यसपछि प्रतिनिधि सभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिए ।
बैठक हलको अव्यवस्थाका कारण समग्र राष्ट्रकै बेइज्जत हुने स्थिति आउन नहुने भन्दै अध्यक्ष दाहालले रातदिन जसरी हुन्छ, काम द्रूतगतिमा गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया