काठमाडौं – नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘बुल–बुल’को असर सुरु भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार ‘महा’ले पश्चिमतिर प्रभाव पारेकामा ‘बुल–बुल’ चक्रवातले अब पूर्वमा प्रभाव पार्नेछ ।
‘बंगालको खाडीमा विकसित बुल–बुल नाम गरेको चक्रवातको असर आउन थालेको छ,’ काठमाडौंपाटीसँग उनले भने, ‘यसको असर देशको पूर्वदेखि मध्यसम्म पर्छ ।
उनका अनुसार यसले मौसम बदली तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना छ ।
‘यसैकारण हिमाली भेगमा सामान्य सतर्कता अपनाउन आग्रह गर्छाैं’, उनले भने ।
उनका अनुसार अहिले देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ ।
दिउँसोतिर हिमाली भूभागमा हिमपात हुने सम्भावना छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ । भारतको गुजरातको तटीय क्षेत्रनजिकै अरब सागरमा ‘महा’ नाम गरेको चक्रवात कमजोर बन्दै निम्न चापीय प्रणालीका रूपमा रहेको छ र अझै कमजोर बन्दै जाने क्रममा छ ।
तर अर्को चक्रवात ‘बुल–बुल’ बंगालको खाडीको पश्चिमी–मध्य भागमा विकास भइरहेको छ । यो प्रणाली हाल उत्तर दिशातर्फ बढ्ने देखिएको महाशाखाले जनाएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसमी अनुमानः
कार्तिक २२ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदलली रहने देखिन्छ । देशको पश्चिमि पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ । हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति : देशको पूर्वी भू–भागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ ।
कार्तिक २३ गते (शनिबार)
दिउँसो : देशको पूर्वी भू–भागलगायत मध्य र पश्चिमका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ ।
राति : देशको पूर्वी भू–भागमा सामान्य बदली हुने र मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ ।
कार्तिक २४ गते (आइतबार)
दिउँसो : देशको पूर्वी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : देशको पुर्वी भू–भागमा आंशिक बदलि रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेका हुनाले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ ।




प्रतिक्रिया