काठमाण्डु- स्थानीय सरकार सञ्चालनमा आएको साढे ६ वर्ष हुँदासमेत बझाङको बुंगल नगरपालिकाले स्थास्थ्य चौकीमा एउटा एक्सरे मेसिनसमेत जनप्रतिनिधिले राख्न सकेका छैनन् ।
अस्पताल निर्माण त परको कुरा स्थानीय बिरामी हुँदा समेत सामान्य उपचार पाउने अवस्था छैन । जनताको स्वास्थ्यको बेवास्था गरिरहेका बुंगलका जनप्रतिनिधिहरु भने वर्षमा ५० लाख रुपैयाँ बढी इन्धन शीर्षकमा खर्च गर्छन् ।
बुंगल नगरपालिकामा वर्षमा ८ महिना पनि राम्रोसँग सवारी चल्न नसक्ने कच्ची सडक छ । तर, जनप्रतिनिधिले भने इन्धन शीर्षकमा बजेट विनियोजन गर्छन् र खर्च देखाउँछन् ।
अघिल्लो वर्ष पनि त्यत्ति ने बजेट इन्धन शीर्षकमा हालेको नगरपालिकाले चालू आर्थिक वर्षमा पनि सोही क्रमलाई निरन्तरता दिएका छन् । यो वर्ष इन्धन अन्य प्रयोजन शीर्षकमा २० लाख, कार्यालय इन्धन शीर्षकमा ३० लाख रुपैयाँ गरी पेट्रोलियम पदार्थको लागि ५० लाख रुपैयाँ विनियोजन गरेका छन् ।
यसैगरी, सवारी मर्मतमा २० लाख रुपैयाँ, मेसिनरी तथा औजार मर्मत सम्भारका लागि ७ लाख रबीमा तथा नविकरण खर्च १० लाख, मर्मत सम्भार खर्च ३ लाख गरी कुल ९० लाख रुपैयाँ यो वर्ष सवारी साधनका लागि खर्च विनियोजन गरेको छ ।
वर्षमा ५ लाख रुपैयाँसमेत आम्दानी गर्न नसक्ने नगरपालिकाले जनप्रतिधिलाई कमिसन खुवाउन विभिन्न शीर्षकमा बजेट हाल्ने गरेको छ । स्थानीय भने बिरामी हुँदा सामान्य उपचारका लागि धनगढी, डडेल्धुरा जान बाध्य छन् । त्यो पनि चाहेको बेलामा एम्बुलेन्स नपाउने अवस्था छ ।




प्रतिक्रिया