त्रिशूलीमा बेपत्ता भएका बस भेटिएनन्, आजका लागि खोजी कार्य स्थगित

त्रिशूलीमा बेपत्ता भएका बस भेटिएनन्, आजका लागि खोजी कार्य स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदो सहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता २ वटा बसको खोजी शुक्रबारका लागि स्थगित भएको छ ।

बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले शुक्रबारलाई स्थगित गरिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अब शनिबार बिहानबाट बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ । उनले शुक्रबार दिनभर खोजतलास गर्दा बस फेला पार्न नसकिएको बताए ।

‘नदीमा पानीको प्रवाह घटेको छैन । रात परेकाले जोखिम हुने भयो, घटनास्थलबाट ३/४ किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन,’ उनले भने । उनले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताए ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताए ।

उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका ४, नेपाल प्रहरीका १ गरी ५ वटा मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करीब ३ बजे वीरगञ्जबाट काठमाण्डुतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाण्डुबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदो सहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।