मार्तडी–कोल्टी सडकखण्डमा ५ महिनापछि पुन: बस सेवा सञ्चालन

मार्तडी–कोल्टी सडकखण्डमा ५ महिनापछि पुन: बस सेवा सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा ५ महिनापछि पुन: बस सेवा सञ्चालनमा आएको छ ।

असारको पहिलो हप्तादेखि सडकखण्ड अवरुद्ध हुँदा ठप्प रहेको बस सेवा मंगलबारबाट सञ्चालन भएको हो ।

निरन्तरको प्रयासपछि वर्षातको सिजनमा अवरुद्ध भएको सडकखण्ड करीब २ हप्ताअघि सञ्चालन आएको थियो तर बस चल्न सकेका थिएनन् । सडकलाई पुन: मर्मत गरी बस सञ्चालन गरिएको छ ।

दशैंअगावै बस सञ्चालन गर्ने भनिए पनि विविध समस्याका कारण बस सेवा सञ्चालन गर्न सकिएको थिएन । मंगलबारबाट बस सञ्चालन भए पछि कुन्ना क्षेत्र तथा कर्णाली प्रदेशका गरीब जनतालाई केही हदसम्म राहत मिल्ने भएको छ ।

तिहारमा बस सेवा सञ्चालन गर्ने प्रतिबद्धता अनुरूप सडकलाई मर्मत गरेर बस सञ्चालन गरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए । बस सेवा सञ्चालनपश्चात् यहाँका नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा लिएको उनले बताए ।

कच्ची तथा जोखिम बाटोमा घाटा व्यहोरेर भए पनि गत वर्ष जस्तै यस वर्ष पनि पहिलोपटक बस सञ्चालन गर्न सहयोग गर्ने महाकाली यातायातका बस व्यवसायी लगायतलाई नगर प्रमुख बोहराले धन्यवाद दिएका छन् ।

मार्तडीबाट महाकाली यातायात प्रालिको बस कोल्टीका लागि छुटेको छ । मार्तडी–कोल्टी क्षेत्रमा बस सेवा सञ्चालनमा आएसँगै तिहार मनाउन घर पुग्ने नागरिकहरूका लागि सहज हुने भएको छ । बस सेवा सञ्चालनले पुर्वी उत्तरी क्षेत्रका ४ वटा पालिका त्यस्तै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट लगायत जिल्लाका नागरिकलाई सहज भएको छ ।

मार्तडी–कोल्टी बसको भाडादर ५०० कायम गरिएको छ । यसअघि गत वर्षको पुस महिनामा औपचारिक रूपमा सदरमुकाम मार्तडीबाट कोल्टीसम्मको नियमित बस सेवा सञ्चालन गरिएको थियो । बिचमा निरन्तर चलेको बस सेवा वर्षातका कारण असारदेखि अवरुद्ध बनेको थियो ।