काठमाण्डु – काठमाण्डु महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत रूपमा बस सञ्चालन गर्न तीन दिनको अन्तिम समयसीमा दिएको छ । महानगरको सूचनालाई बेवास्ता गर्दै सडकबाटै सेवा सञ्चालन गर्ने कम्पनीहरूलाई लक्षित गर्दै कडा निर्देशन जारी गरिएको हो ।
गत चैत २५ गते नै लामो तथा छोटो दुरीका बस बसपार्कभित्रबाट सञ्चालन गर्न सूचना जारी गरिए पनि केही व्यवसायीले त्यसको अवज्ञा गरेपछि महानगरले अन्तिम पटक कडाइ गरेको हो ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा नुवाकोटतर्फ चल्ने कम्पनीहरू सम्पर्कमा आए पनि धादिङतर्फ चल्ने यातायात कम्पनीहरूले भने सूचनाको बेवास्ता गरेको छ ।
कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरीलाई नेपाल प्रहरीसँग समन्वय गरी तत्काल अनुगमन थाल्न निर्देशन दिएकी छन् ।
बैठकमा सुरक्षा र प्रविधिको प्रयोगका विषयमा पनि छलफल भएको थियो । अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले सहरी सुरक्षालाई जनशक्तिभन्दा प्रविधिबाट निगरानी गर्नुपर्ने सुझाव दिए । उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले सडक अनुशासनका लागि समन्वयात्मक कार्यक्रम आवश्यक रहेको बताए । हाल १६१ रोपनीमा फैलिएको नयाँ बसपार्कमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिने क्षमता छ ।
प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार बसपार्क बाहिरै यात्रु ओसार्ने प्रवृत्तिका कारण ट्राफिक जाम र सुरक्षा जोखिम बढेको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिका अनुसार बसपार्कभित्र अहिले औसतमा दैनिक ३४० वटा गाडी आउने–जाने गर्छन् ।
काठमाण्डुबाट दैनिक बाहिरिने करिब ७०० सवारीमध्ये ५० प्रतिशत अझै पनि बसपार्क बाहिरै पार्किङ हुने र यात्रु चढाउने/ओराल्ने गरेकाले सहरी व्यवस्थापनमा मुख्य चुनौती थपिएको छ ।




प्रतिक्रिया