काठमाण्डु- मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाभित्र दुईवटा बसपार्क सञ्चालनमा आएका छन्।
अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर काठमाडौँ महानगरपालिका ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालनमा आएका हुन्।
जापान सरकारले कामपा-२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर नेपाल सरकारमार्फत महानगरलाई सञ्चालनको जिम्मेवारी दिएको हो।
अरनिको यातायातले कामपाबाट स्वीकृति नै नलिइकन बसपार्क सञ्चालन गरेको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। एक महानगरभित्र एकमात्र बसपार्क बनाउने कामपाको नीति भएकाले दुई बसपार्क सञ्चालनको स्वीकृति नदिइएको उनले बताए।
मानन्धरका अनुसार विसं २०५६ मा महानगरका तत्कालीन नगर प्रमुख केशव स्थापित र लोत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक-निजी साझेदारी’अन्तर्गत सम्झौता भएर बसपार्क सञ्चालनमा ल्याइएको थियो।
उक्त बसपार्कबाट दैनिक झण्डै पाँच सय सार्वजनिक सवारी साधन देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन्। नउले महानगरभित्र एकमात्र बसपार्क रहेको बताए। ‘हामीले जडीबुटीको बसपार्कलाई मान्यता दिएका छैनौँ । महानगरको एकमात्र गोँगबुस्थित नयाँ बसपार्क मात्रै हो,’ उनले भने।
प्रवक्ता मानन्धरले एउटै पालिकाभित्र धेरै बसपार्क सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमासमेत समस्या हुने भएकाले एक पालिका एक बसपार्कको नीति लिइएको बताए। पछिल्लो समय कमपाले यत्रतत्र छरिएर रहेका सार्वजनिक बसलाई अनिवार्यरुपमा बसपार्क भित्रबाट सञ्चालन गर्न सूचना जारी गरेको छ।
काठमाडौँभित्रको ट्राफिक व्यवस्थापनलाई थप सहजता होस् भनेर महानगरले चक्रपथ वरपर सडकबाट जथाभावी छुट्ने सार्वजनिक सवारी साधनलाई बसपार्कभित्रबाट सञ्चालन गर्न भन्दै आएको छ।
महानगरका यातायात विज्ञ जगतमान श्रेष्ठले कामपाको एक महानगर, एक बसपार्क नीति भएकाले जडीबुटीमा सञ्चालित बसपार्कलाई मान्यता नदिइएको बताए। ‘अरनिको यातायातले केही वर्षका लागि व्यक्तिगत जग्गा भाडामा लिएर क्षणिक स्वार्थका लागि बसपार्क सञ्चालन गरेका छन्। उक्त बसपार्कलाई कामपाले मान्यता दिएको छैन,’ उनले भने।




प्रतिक्रिया