काठमाण्डु– भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर बसमा आगलागी हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
नेपाल सीमा सुनौली (रुपन्देही) बाट दिल्ली जाँदै गरेको बस ट्रकसँग ठोकिएर आगलागी हुँदा २४ जना घाइते भएका छन्।
घाइतेहरूमध्ये छ जना गम्भीर अवस्थामा छन् र उनीहरूलाई बहराइच मेडिकल कलेज पठाइएको छ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सकाका अनुसार बसमा ४५ जना यात्रु थिए जसमध्ये धेरैजसो नेपालका थिए। मृतकहरूको अझै पहिचान हुन सकेको छैन भने चालक र कन्डक्टरको अवस्था अज्ञात छ।
दुर्घटना मंग्लबार बिहान करिब २ः३० बजेतिर कोतवाली देहात प्रहरी चौकी क्षेत्रअन्तर्गत पर्ने फुलवारिया बाइपासमा भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार, फुलवारिया ओभरब्रिजतर्फबाट तीव्र गतिमा आइरहेको ट्रकले फुलवारिया क्रसिङमा बसको बीचतिर ठोक्किएको थियो। ‘धक्का यति जबरजस्त थियो कि बस झण्डै १०० मिटर घिस्रिएर एक बिजुलीको पोलमा गएर ठोक्कियो। पोल बसमाथि पल्टिँदा, हाई–टेन्सन वायरहरू पनि झर्दै सर्ट–सर्किट भयो,’ एक प्रत्यक्षदर्शीले प्रहरीलाई बताए। उनले थपे, ‘केही क्षणमै बस आगोले पूरै घेर्यो र यात्रुहरु भित्रै फसे। धेरैले झ्यालका सिसा फोडेर बाहिर हाम फालेर ज्यान जोगाउन सके।
स्थानीयहरूले बताए अनुसार ठोक्किएपछि ट्रक पनि पल्टिएको थियो भने केही समयमा आगो लागेको थियो । आगो निभाएपछि बसबाट तीन जलेका शव निकालिएका थिए तीमध्ये दुई जना पहिचान गर्न नसक्ने अवस्थामा थिए।




प्रतिक्रिया