जेठ महिनामा कुन बैंकले कति ब्याज दिन्छ ?

जेठ महिनामा कुन बैंकले कति ब्याज दिन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेठ महिनाका लागि २० वटा वाणिज्य बैंकहरूले नयाँ ब्याजदर तोकेका छन् ।

२० बैंकहरुमध्ये १४ बैंकहरुले ब्याजदर स्थिर राखेका छन् भने ३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् । यस्तै ३ वटाले बढाएका छन्।

बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ भने व्यक्तिगत मुद्दती खातामा ३ प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले वैशाख महिनाको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकले ब्याजदर घटाएका छन् भने बाँकी बैंकहरूले ब्याजदर स्थिर राखेका छन् ।

एभरेष्ट बैंकले जेठ महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.६४ र संस्थागतर्फ ५.६४ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ ६.६१ र संस्थागततर्फ अधिकतम ५.६१ प्रतिशत ब्याजदर तोकेको थियो ।

वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशत ब्याजदर कायम गरेको सानिमा बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर बढाएको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३३ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर बढाएको छ भने संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर कायम भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर कायम गरेको बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिद्धार्थ बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको बैंकले जेठका लागि व्यक्तिगततर्फ अधिकतम ५.७५ र संस्थागतर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धरण गरेको छ ।

यस्तै कुमारी बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९२ र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदरको तोकेको बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यता एनआईशी एशिया बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएको छ ।