११ खर्बको वैदेशिक व्यापारमा ८ खर्ब ६१ अर्ब घाटा

११ खर्बको वैदेशिक व्यापारमा ८ खर्ब ६१ अर्ब घाटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा ८ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा रू नौ खर्ब ८८ अर्ब ५८ करोडको आयात र १ खर्ब २७ अर्ब २० करोडको निर्यात भएको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १०.०९, निर्यात ४६.५० र कूल वैदेशिक व्यापार १३.३० प्रतिशतले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापारघाटा ६. २० प्रतिशतले बढेको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.६० र निर्यातको हिस्सा ११.४० प्रतिशत रहेको छ ।

सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा ४ खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा व्यहोरेको विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट ५ खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा ९८ अर्ब ७५ करोड बराबरको निर्यात भएको छ । त्यस्तै, चीनसँगको व्यापार घाटा १ खर्ब ९० अर्ब ४४ करोड बराबर छ । पछिल्लो ७ महिना अवधिमा चीनबाट १ खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात हुँदा २ अर्बको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापारघाटा उच्च छ ।

नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानस्तानसँग छ । अफगानस्तानसँग सात महिनामा १ करोड २४ लाखको आयात र ५९ करोड ४५ लाखको निर्यात भएको छ । डेनमार्क, रसियन फेडेरेसन, अस्ट्रिया, नर्वे, माल्दिभ्सलगायत देशहरुसँग व्यापार नाफा बढी रहेको छ ।

विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा २९ अर्ब ४५ करोड १६ लाखको डिजेल, २४ अर्ब ५८ करोड ३२ लाखको पेट्रोल र ६अर्ब ६१ करोड ६५ लाखको एलपि ग्यास आयात भएको छ । त्यस्तै, ५ अर्ब ५० करोड ९० लाख बराबरको विद्युतीय सवारीसाधन र ५ अर्ब ४३ करोड ४१ लाखको अन्य सवारीसाधन आयात भएको छ । ७ महिनामा ३ अर्ब ५३ करोड ९७ लाख बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भटमास तेल पहिलो स्थानमा छ । माघ मसान्तसम्ममा ३२ अर्ब ४१ करोड ५७ लाख बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै, ६ अर्ब ५७ करोड ६७ लाखको सूर्यमुखी तेल, ५ अर्ब ३८ करोड ८० लाखको अलैँची, ३ अर्ब ८९ करोड ५२ लाखको कार्पेट, ३ अर्ब १० करोडको धागो र ३ अर्ब बराबरको चिया निर्यात भएको छ ।