सरकारमा थारु समुदायको प्रतिनिधित्व नभए कडा आन्दोलन गर्ने चेतावनी

सरकारमा थारु समुदायको प्रतिनिधित्व नभए कडा आन्दोलन गर्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  थारु युवा सभा केन्द्रिय समितिले वर्तमान सरकारमा थारु समुदायको प्रतिनिधित्व नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

अाइतबार राजधानीमा अायाेजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कानुनलाल चौधरी (थारु) ले  वाम गठबन्धनको सरकारमा अहिलेसम्म एक जना पनि थारु मन्त्री नबनेको भन्दै कडा चेतावनी दिएका हुन्।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बनेको छ, तर अहिलेसम्म एक जना पनि थारु मन्त्री बनेका छैनन्, उनले भने, ‘बजारको हल्ला सुन्दा एमाले र माओवादी दुवै पार्टीले थारु समूदायबाट एक जनालाई पनि पूर्ण मन्त्री बनाउनेजस्तो देखिएको छैन, यस्तो अवस्थामा हामी खबरदारी गर्न आज एक्कासी यो क्लबमा भेला भएका छौं।’

उनले प्रधानमन्त्री ओलीले आज वा भोलिभित्रै मन्त्रिमण्डल विस्तार गर्न लागेको आफूहरुको जानकारीमा भएकोले अब हुने विस्तारमा थारु समूदायलाई समेट्नेगरि एक जना फुल मन्त्री बनाउनुपर्ने बताए ।

थारुले भने,‘म सरकारको ध्यानाकार्षण गराउन चाहन्छु, उहाँहरुले अब ढिलाई नगरी थारु समूदायको भावनालाई सम्मान गर्दै कम्तिमा एक जना फुल मन्त्री बनाउनुपर्छ, सरकारको नेतृत्व गरेका दुवै दल एमाले र माओवादी केन्द्रलाई हाम्रो विनम्र आग्रह छ ।’

देशमै अहिले थारु समूदाय करिब ७ प्रतिशत भएको तर विगतदेखिको ईतिहास हेर्दा थारु समुदायलाइ सरकारमा सहभागी गराएर देश हाँक्ने जिम्मा दिन सरकारका नेतृत्वले  कञ्जुस्याँई गरेको उनको गुनासो थियो।

उनले भने ‍- ‘मुलुकको यो ७० वर्ष लामो लोकतान्त्रिक आन्दोलनमा थारु समूदायको महत्वपूर्ण योगदान छ, थारुका छोराछोरीले रगत र पसिना बगाएका छन्, तर हामीले कहिल्यैपनि यो दिनुहोस्, त्यो दिनुहोस् भनेर विगतमा माँगेनौं, अहिले मुलुक संघीय संरचनामा गएको छ, समावेशी–समानुपातिक सिद्धान्त अनुसार पनि हाम्रो समूदायलाई सरकारको प्रतिनिधित्वमा समेट्नुपर्छ।’

यदि वाम गठबबन्धनको नेतृत्वमा बनेको वर्तमान सरकारले थारु समूदायलाई सम्बोधन गर्नेगरि एक जना पनि फुल मन्त्री नबनाए आफूहरुको भावना र सिँगो समावेशिताको भावनामाथि चोट पुग्ने उनको गुनासो थियो ।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य एवम् थारु अभियन्ता भगवती चौधरीले अब हुने मन्त्रिमण्डल विस्तारमा एमाले र माओवादी केन्द्रबाट कम्तिमा एक जना थारु सभासदलाई मन्त्री बनाउन प्रधानमन्त्रीओलीलाई आग्रह गरेकी छिन् ।