मन्त्रिपरिषद्को निर्णय, नेपाल प्रहरीमा ३ एआईजी र शसस्त्रमा २ राख्ने

मन्त्रिपरिषद्को निर्णय, नेपाल प्रहरीमा ३ एआईजी र शसस्त्रमा २ राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाल प्रहरीमा तीन जना एआईजी र शसस्त्र प्रहरी बलमा दुई एआईजी राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुवै संगठनमा एआईजीको पद कटौतीको निर्णय गरेको हो ।

गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।

प्रहरीमा ३१०१ दरबन्दी थप

सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १०१ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

सरकारले प्रहरी एकाइ नै नपुगेका स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिको पहिलो प्राथमिकता दिन आगामी वर्ष एक हजार ६०० दरबन्दी पूर्ति गर्ने तथा बाँकीमा क्रमशः दरबन्दी पूर्ति गर्ने गरी प्रस्तावित तीन हजार १०१ दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

एआइजीको दरबन्दी कटौती
बैठकले नेपाल प्रहरीका केही पद खारेजी, पद मिलान र दरबन्दी थप गर्ने निर्णय गरेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए ।
सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी तीन र सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी दुई कायम गरेको छ । यसअघि नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षकको स्वीकृत दरबन्दी संख्या १६ र सशस्त्र प्रहरी बलमा छ जना रहेको थियो ।