१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा छाप्न स्वीकृति, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा छाप्न स्वीकृति, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले चलनचल्तीमा रहेको १०० रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ नोटको डिजाइन गर्न स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँ नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । हाल १०० रुपैयाँको नोटमा नेपालको पुरानो नक्सा छ ।

बैठकले विश्व बैंकबाट उपलब्ध हुने १०० मिलियन अमेरिकी डलर (झण्डै १३ अर्ब ३३ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, सिम्बुवा खोला जलविद्युत् आयोजनाका लागि झण्डै १२ दशमलव ३६ हेक्टर जग्गा प्राप्त गर्ने सम्बन्धी प्रक्रिया चलाउन अधिकारी तोक्ने, नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा सम्पन्न हुने समझदारी पत्र स्वीकृत गर्ने र समझदारी पत्रमा हस्ताक्षर गर्न सर्वोच्च अदालतका मुख्य रजिष्टार वा रजिष्टारलाई स्वीकृति दिने, भारतमा चलिरहेको लोकसभा चुनावको अवलोकनका लागि भोलिदेखि २७ सम्म हुन लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भारत भ्रमण स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ ।