प्रहरीका डीआईजी जोशी र ढकाल एआईजीमा बढुवा, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय


काठमाण्डु – सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जोशी र ढकाललाई बढुवा र नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरेर ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गरिएको छ भने रिक्त रहेको भाषा आयोगको सदस्यमा सुरेश मानन्धरलाई नियुक्त गरिएको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

१. प्रहरी नायव महानिरीक्षकहरू उमेशराज जोशी र भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।

२. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने ।

३. समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने ।
४. भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाण्डुलाई नियुक्त गर्ने ।

प्रतिक्रिया दिनुहोस
Advertisement