काठमाण्डु – सरकारले ८ देशका लागि राजदूत सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्ले ८ देशका लागि राजदूत सिफारिस गरेको हो ।
बैठकले अमेरिकाका लागि पूर्व वाणिज्य सचिव चन्द्र घिमिरेलाई राजदूत सिफारिस गरेको छ । भारतमा पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशिल प्याकुरेललाई सिफारिस गरिएको छ ।
त्यसैगरी सुम्निमा तुलाधर डेनमार्क, डा विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गरिएको छ ।
बिहीबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेबीच ११ देशमा राजदूतको भागबण्डा मिले पनि शुक्रबार ८ जना मात्रै सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।
बिहीबार एमालेको सिफारिसमा ८, रास्वपाको सिफारिसमा २ र माओवादीको सिफारिसमा १ राजदूत बनाउने सहमति भएको थियो ।
अघिल्लो मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।
बाँकी देशमा राजदूत उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान भ्रमणबाट फर्किएपछि सिफारिस गरिने निकटस्थ स्रोतले बतायो । श्रेष्ठ शनिबार इरान भ्रमणमा जाँदैछन् ।




प्रतिक्रिया