जहाज दुर्घटनाबारे छानबिन आयोग बनाउन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

जहाज दुर्घटनाबारे छानबिन आयोग बनाउन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्ने आयोग बनाउन प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियाृे । दुर्घटनाको जानकारी तथा छानबिन प्रक्रिया कसरी अगाडि बढाउने भन्नेबारे छानबिनका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा बैठकबाट निर्णय हुनेछ । छानबिनका लागि आयोग बनाउने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् ।

प्रधानमन्त्री ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे घटनास्थलमा पुगेर निरीक्षण गर्नुका साथै नेपाल नागरिक उड्डययन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिएका थिए ।

ब्रिफिङका क्रममा घटनाबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई प्रधानमन्त्री ओलीले निर्देश गरेका थिए ।

ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्रि पाण्डे, निमित्त मुख्यसचिव लीलादेवी गड्तौलासहितका उच्च अधिकारीहरू सहभागी थिए ।