भागबन्डा नमिल्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई, माधव नेपाल भन्छन्ः २२ सम्म कसैले चुँइक्क गर्दैन

भागबन्डा नमिल्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई, माधव नेपाल भन्छन्ः २२ सम्म कसैले चुँइक्क गर्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रिमण्डल विस्तारले पूर्णता पाउन नसकेको हो ।

गठबन्धनका नेताहरुबीच तत्काल मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा छलफल भएपनि मन्त्रालयमा भागबन्डा नमिल्दा समस्या उत्पन्न भएको हो । नेपाली कांग्रेस, माअ‍ोवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धन भागबन्डामा कुरो नमिल्दा देउवा नेतृत्वको क्याबिनेटले डेढ महिनादेखि पूर्णता पाउन सकेको छैन् ।

नेकपा एसका अध्यक्ष माधव नेपालले तत्काल मन्त्रिमण्डल विस्तार नहुने दाबी गरेका छन् । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले २२ गतेभन्दा अगाडि मन्त्रिमण्डल विस्तार हुन नसक्ने दाबी गरेका हुन् ।

‘मन्त्रिपरिषद विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं,’ उनले भने ।

त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि मन्त्रिमण्डल विस्तार हुने बताए । बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले कठिन परिस्थितिमा गठन भएकाले सरकारले २२ गतेपछि पूर्णता पाउने बताए ।

‘कठिन परिस्थितिमा सरकार गठन भएको हो । कठिन अवस्थामा बनेको सरकारले २२ गते पछि पूर्णता पाउँछ । पूर्णता पाएपछि सरकार स्मुथ्ली अगाडि बढ्ने छ,’ उनले भने, ‘अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको छ । गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद छैन ।’

अध्यक्ष यादवले मन्त्रालय बाँडफाँडमा कुनै विवाद नरहेको बताएपनि शक्तिशाली मन्त्रालय कसले पाउने भन्ने विषयमा नेताहरुबीच विवाद रहेको स्रोतले जानकारी दियो ।